घरेलु हिंसा आरोपितका विरूद्ध प्रहरीमा उजुरी दर्ता

  ०७६ भदौ २४ गते

खाँडाचक्र नपा-२ की २१ वर्षीया अम्मा दमाईलाई २८ वर्षीय पति कवि दमाईले छोरी नजन्माएको आरोपमा कुटपिट गरेको भन्दै पीडितले भदौ २२ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छिन् ।

पीडित महिलालाई आरोपितले भदौ २१ गते दिउँसो कुटपिट गर्नुका साथै घर निकाला गरेको पीडितले दिएको उजुरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय, कालिकोटका डिएसपी श्यामबाबु वलीले जानकारी दिए ।

पीडित महिलाको उजुरीपछि फरार आरोपितको खोजी कार्य जारी रहेको र गिरफ्तार पश्चात् घटनाको अनुसन्धान गरिने डिएसपी वलीले बताए ।

पतिको कुटपिटबाट घाइते भएकी पीडितको उपचार भदौ २१ गते नै जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।


कालीबहादुर मल्ल