घरेलु हिंसाविरुद्ध मुद्दा दर्ता

  ०७४ जेठ ७ गते

शम्भुनाथ नपा-६ मोहनपुरकी १८ वर्षीया कल्पनाकुमारी साहलाई दाइजो माग्दै यातना दिएको आरोपमा जिल्ला प्रहरी कार्यालयले ०७४ जेठ ७ गते उनका पति २५ वर्षीय श्यामसागर साह र सासु ४७ वर्षीया देवकीदेवी साहविरुद्ध घरेलु हिंसा मुद्दा दर्ता गरेको छ ।

पीडितका बुवा धनुषाको पर्छवा गाविस-२ का रामऔतार साहले दिएको उजुरीका आधारमा आरोपितहरू विरुद्ध आर्थिक वर्षको पहिलो घरेलु हिंसा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दाइजो माग्दै कुटपिट गर्दै आएका आरोपितहरूले ०७३ फागुन ६ गते र ०७४ जेठ १ गते कुटपिट गरी घरनिकाला गरेपछि माइत विस्थापित भएको पीडितले बताइन् । कुटपिटबाट शरीरभर नीलडाम चोटपटक लागेको पीडितको बायाँ आँखामा गम्भीर चोट लागेको छ । पीडितको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल र काठमाडौं गौशालास्थित तिलगंगा इन्स्टिच्युट अफ अफ्थालमोलोजीमा उपचार भएको छ । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा वैशाख १९ गते घाउँजाँच स्वास्थ्य परिक्षण गरिएको डा. सरोज अधिकारी यादवले बताए । सामाजिक परम्पराअनुसार पीडितको ०७२ फागुन २८ गते विवाह भएको थियो ।


मनोहरकुमार पोखरेल