घरेलुहिंसाका कारण घाइते महिला छोरासहित सेफ हाउसमा आश्रित

  ०७६ वैशाख २६ गते

राजविराज नपा–९ मलेठकी ३० वर्षीया रेनुुका राईलाई ३३ वर्षीय पति भगवतीप्रसाद सिंहले कुटपिट गरी घाइते बनाएपछि वैशाख २५ गतेदेखि राजविराजस्थित सेफ हाउसमा आश्रय लिएकी छिन् ।

हत्या गरिदिने धम्की दिँदै वैशाख १६ गतेदेखि खान समेत नदिई कोठामा थुनेर आरोपितले कुटपिट गरेपछि साढे दुई वर्षीय छोरासहित घरबाट भागेकी पीडितलाई आश्रय दिएर राखिएको सेफ हाउसकी अनीता पोखरेलले बताइन् ।

आरोपित पतिले शरीरमा विषालु बिच्छी फ्याँकेर खान नदिई कोठामा थुनेर काठको स्केलले शरिरभरी कुटपिट गरेको पीडितले आरोप लगाइन् ।

जिल्ला प्रहरी कार्यालयमा वैशाख २५ गते उजुरी दिएकी उनको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको छ ।

यसअघि पटकपटक कुटपिटबाट घाइते भएकी पीडित र आरोपितलाई जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रले सहमति गराउँदै घर पठाउने गरेको थियो ।

हिंसापीडित महिलाद्वारा प्रहरीमा उजुरी
त्यसैगरी राजगढ गाउँपालिका–५ की २६ वर्षीया ममतादेवी मण्डललाई वैशाख २४ गते साँझ पति शिवदत्त मण्डलले लाठीले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् ।

कुटपिटले आँखा र अनुहार सुन्निएको अवस्थामा पीडितको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख २५ गतेदेखि उपचार भइरहेको छ ।

पीडित नौ हप्ताकी गर्भवती रहेको र कुटपिटबाट आँखा र नाकमा गम्भीर चोटपटक लागेको अस्पतालकी स्टाफ नर्स मनिषा सिम्खडाले बताइन् । घाइते महिला रूपनी गाउँपालिकास्थित माइतीघर विस्थापित भएकी छिन् ।

हिंसापीडित महिलाद्वारा प्रहरीमा उजुरी
त्यसैगरी तिरहुत गाउँपालिका–३ गोइठी पिपराही टोलकी २१ वर्षीया फुलकुमारी रजकलाई २५ वर्षीय पति रामकुमार रजक, ५५ वर्षीय ससुरा हेमनारायण रजक र ५० वर्षीया सासू सुशिलादेवी रजकले लात, मुक्काका साथै पेटीले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा वैशाख २५ गते उजुरी दिएकी छिन् ।

कुटपिटले पीडितको आँखा सुन्निएको र शरीरभरी निलडाम देखिएको महिला तथा बालबालिका सेवा केन्द्र राजविराजकी इन्स्पेक्टर रीता पौडेलले बताइन् । पीडित महिलाको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ ।

सामाजिक परम्पराअनुसार एक वर्ष अघि विवाहित पीडितलाई आरोपितले अपशब्द बोली कुटपिट गरी मानसिक यातना समेत दिने गरेको पीडितको आरोप छ ।


मनोहरकुमार पोखरेल