घरमै सुत्केरी हुन बाध्य छन् विकटका महिला

  ०७७ कात्तिक ३० गते

स्थानीय, प्रदेश र सङ्घ सरकारले ग्रामीण क्षेत्रसम्म स्वास्थ्य संस्थाहरू विस्तार गरेको दावी गरिरहँदा जिल्लाका विकट गाउँका गर्भवतीहरू अहिले पनि घरमै सुत्केरी हुन बाध्य छन् ।

गर्भवतीहरू घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान जोखिममा पर्ने भएता पनि भौगोलिक विकटता, स्रोत साधनको अभाव र जनचेतनाको कमीले विकट गाउँका गर्भवतीहरू घरमै असुरक्षित रूपमा बच्चा जन्माउन बाध्य भएका हुन् ।

पुचौँडी नगरपालिकामा ६ प्रतिशत गर्भवती अझै घरमै सुत्केरी हुने गरेको तथ्याङ्क छ । जिल्ला सदरमुकाम खलङ्गामै रहेको सबैभन्दा पुरानो दशरथचन्द नगरपालिकामा मात्रै पनि आर्थिक वर्ष २०७६/७७ मा ४१ जना महिला घरमै सुत्केरी भएको तथ्याङ्क छ ।

चालु आर्थिक वर्षको अहिलेसम्म ११ जना भन्दा बढीले घरमै बच्चा जन्माएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रमानन्द भट्टले बताउनुभयो । वडा नम्बर १ र ३ मा बढी गर्भवती घरमै सुत्केरी हुने गरेको पाइएको उहाँले बताउनु भयो  ।

सवारी साधनको अभाव, नियमित सवारी साधन सञ्चालन नहुने, सबै सवारी साधनहरूले गर्भवती र सुत्केरीलाई बोक्न नमान्ने लगायतका समस्याले गर्भवतीहरूको पहुँच स्वास्थ्य संस्थामा नभएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य संयोजक परमानन्द भट्टले बताउनु भयो ।

उहाँले भन्नु भयो–‘जनचेतनाको कमी र पुर्चौँडी नगरपालिकामा जनशक्तिको अभाव रहेकाले पनि समस्या भएको छ । कर्मचारी समायोजनले पनि धेरै स्वास्थ्य चौकीमा सुत्केरी गराउने दक्ष महिला स्वास्थ्यमकर्मीको अभाव छ । सुत्केरी गराउनको लागि लिनै पर्ने एसबीआई तालिम लिएका महिला स्वास्थ्यकर्मीको पनि कमी छ ।’

परिवारका सदस्य र स्वयम् महिलाहरूमा पनि सुत्केरी सेवा स्वास्थ्य संस्थाबाट लिन अनिवार्य छ भन्ने सचेतना नहुँदा घरमै सुत्केरी हुने सङ्ख्यामा कमी नआएको पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदन महराले बताउनुभयो ।

उहाँले भन्नु भयो–‘गाउँबस्ती नजिकै स्वास्थ्य संस्था नभएका कारण महिलाहरू सुत्केरी व्यथा लाग्ना साथ स्वास्थ्य संस्थामा पुग्न सक्दैनन् । सबैको पुहँचमा हुने गरी स्वास्थ्य चौकी निर्माण गरिनु पर्छ ।’

सुत्केरी प्रोत्साहन भत्ता समयमै उपलब्ध गराउन नसकिएको कारण पनि परिवारका सदस्यहरूले गर्भवतीलाई  स्वास्थ्य संस्था लैजान सक्रियता नदेखाएको शर्माली स्वास्थ्य चौकीका अनमी कृष्णा चौधरीले बताउनु भयो ।

घरमै सुत्केरी हुँदा आमा र बच्चाको ज्यान नै जोखिममा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल अधिकृत डाक्टर बसन्तराज जोशीले बताउनु भयो ।

ग्रामीण क्षेत्रका सबै ठाउँमा सुरक्षित सुत्केरी गृह निर्माण गरी सबै आमाहरूलाई स्वास्थ्य संस्थामै बच्चा जन्माउन उत्प्रेरित गर्नुपर्ने जोशीको भनाइ छ ।


नरी बडु