घरबाट हराएकी युवतीको ३२ दिनपछि शव फेला,आरोपितद्घारा हत्या स्वीकार

  ०७६ पुस १९ गते

आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीस्थित चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको घरबाट हराएको ३२ दिनपछि पुस १९ गते शव फेला परेको छ ।

तेहृथुमस्थित फाक्चुवा दोभानमा पर्ने तमोर नदीमा पीडितको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुबहादुर खड्काले बताउनुभयो ।

पाँचथर सिम्ले निवासी धनबहादुर माझीले माछा मार्ने क्रममा पुस १९ गते शव फेला पारेपछि तेहृथुमको आठराई गाउँपालिकास्थित प्रहरी कार्यालयमा फोन गरी घटनाको जानकारी दिएको इन्सपेक्टर खड्काले बताउनुभयो ।

मन्दिराले लगाएको चुरा र रातो टिसर्टका आधारमा शव पहिचान गरिएको ४४ वर्षीय काका चन्द्रबहादुर अधिकारीले बताउनुभयो ।

हत्याको आशंकामा नातामा दाजु पर्ने आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका २७ वर्षीय रमेश अधिकारीलाई प्रहरीले पुस ९ गते गिरफ्तार गरी अनुसन्धान गरिरहेकोमा शव फेला परेपछि आरोपितले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो ।

मृत्तकका बाबु नन्दकुमार अधिकारीले आरोपित विरूद्घ जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको बताउनुभयो ।

शवको पोष्टमार्टम जिल्ला अस्पतालमा पाँचथरमा पुस २० गते गरिएको छ ।

 

 

 


देवराज गुरुङ