घरनिकाला परेकी महिलाद्वारा न्यायका लागि गुहार

  ०७६ असोज ३ गते

राजगढ गाउँपालिका–५ मलेकपुर मूल घर भई राजविराज नपा–७ स्थित घरमा बस्दै आएकी ३१ वर्षीया आशादेवी दासले न्यायका लागि पहल गरिदिन असोज ३ गते अधिकारकर्मी र सञ्चारकर्मीलाई गुहारेकी छिन् ।

राजविराजस्थित नेपाल पत्रकार महासङ्घको कार्यालयमा पत्रकार सम्मेलन गरी पीडितले आफूमाथि ६८ वर्षीय ससुरा सुर्यनारायण दास, ४० वर्षीय पति शङ्करप्रसाद दास र ३२ वर्षीया नन्द सङ्गीताकुमारी दासबाट ज्यानको खतरा समेत भएकाले न्यायका लागि गुहारेको बताइन् । पतिसँग झगडा गरी लामो समयदेखि सङ्गीता माइत बस्दै आएकी छिन् ।

पीडितले प्रहरी, प्रशासनसमक्ष घरेलु हिंसाको उजुरी गरेपछि आरोपितहरूको यातना झनै बढेको उनले बताइन् ।

पीडितका अनुसार आरोपितहरूले गत भदौ ६ गते गालीगलौज र कुटपिट गरेपछि पीडितले भदौ ८ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयमा भदौ ११ गते आरोपितहरूले अब आइन्दा कुटपिट, गालीगलौज नगर्ने लिखित सहमति गरेर घर लगेकोमा पुनः यातना दिई घर निकाला गरेको पीडितले बताइन् । प्रहरीले घरेलु हिंसाको उजुरी दर्ता गरी आरोपितहरूलाई कारबाही नगरेको पीडितले गुनासो गरिन् ।

सामाजिक परम्पराअनुसार ०६० सालमा विवाहिता पीडितको १५ वर्षीया एक छोरी, ११ र आठ वर्षीय दुई छोरा छन् ।

राजविराज नपा–७ मा शङ्कर खाद्य बिज भण्डार सञ्चालन गरी बसेका पतिले आफूलाई छोराछोरीबाट अलग गरी राजगढ गाउँपालिका–५ मलेकपुरस्थित पुरानो घरमा बस्न दबाब दिई राजविराजस्थित घरबाट निकालेपछि तीन दिनदेखि अलपत्र परेको बताइन् ।

आरोपित पतिले अंशवण्डामा आफ्नो भाग मलेकपुरस्थित घर परेकोले आशादेवीले उतै बस्नु पर्ने अवस्था आएको बताए ।

तर, पीडितले आफ्नो मोबाइल फोनसमेत आरोपित पतिले ‘ब्ल्याक लिस्ट’ गरेको बताउँदै भनिन्–‘आरोपित पति शङ्कर एक्ला छोरा रहेकाले अंशवण्डा गर्ने जरूरी नरहे पनि ससुरा र पति मिलेर आफूलाई छोराछोरीबाट अलग बनाई एक्लो बनाउन नाटकीय ढङ्गले अंशवण्डा गरिएको हो ।’


मनोहरकुमार पोखरेल