ग्रामीण क्षेत्रका नागरिक स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित

  ०७३ कात्तिक १ गते

ग्रामीण क्षेत्रका बजारमा म्याद सकिएका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामानहरू विक्री वितरण भएपछि चार्डपर्वको समयमा यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्नबाट वञ्चित भएका छन् । स्थानीय प्रशासनले नियमित बजार अनुगमन नगरेका कारण ग्रामीण क्षेत्रका उपभोक्ता स्वच्छ र स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित भएका हुन् ।

वेलौरी, सिसैयालगायत जिल्लाको सदरमुकाममा समेत खुलेआम म्याद गुज्रेका खाद्यान्न लगायतका दैनिक उपभोग्य सामान विक्री वितरण हुँदै आएकाले यहाँका उपभोक्ता स्वच्छ र स्वस्थ्य खाद्य उपभोग गर्नबाट वञ्चित हुनुपरेको उपभोक्ता हित संरक्षण मञ्च कञ्चनपुरका अध्यक्ष प्रभुनिधि पन्तले बताए ।

जिल्ला प्रशासन कार्यालयले बेलाबखतमा अनुगमन गरेपनि ग्रामीण क्षेत्रका बजारको अनुगमन नगर्दा आम उपभोक्ता स्वस्थ खाद्य उपभोग गर्नबाट वञ्चित हुनुका साथै कालो बजार गर्नेले प्रश्रय पाइरहेको अध्यक्ष पन्तले बताए ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अन्तर्गत रहेको बजार अनुगमन समिति सदस्य भगवती थापाले बजार अनुगमन गरिरहेको र अबका दिनमा बजार अनुगमनलाई नियमित गरी नागरिकहरूको स्वच्छ र स्वस्थ्य खान पाउने आधारभूत अधिकार सुनिश्चत गरिने बताइन् ।


कोमलनिरञ्जन भाट