गुल्मी अस्पताल सात वर्षदेखि एम्बुलेन्सविहीन

  ०७६ कात्तिक २० गते

गुल्मी अस्पताल सात वर्षदेखि एम्बुलेन्सविहीन भएपछि बिरामीलाई अस्पताल र अस्पतालबाट जिल्ला बाहिर लैजन समस्या हुने गरेको छ ।

अस्पतालमा एम्बुलेन्स आवश्यक परे अन्यत्र नै गुहार माग्नु पर्छ । त्यो पनि भनेको समयमा उपलब्ध हुँदैन ।   जिल्ला अस्पतालमा भएको दुई ओटा एम्बुलेन्स वर्षौँदेखि बिग्रिएर कार्यालयमा थन्किएका छन् ।

अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले पहिलाको एम्बुलेन्स बिग्रेका र नयाँ एम्बुलेन्स खरिद प्रक्रिया सुरू नभएको बताए । उनले अस्पताललाई एम्बुलेन्स आवश्यक रहेको बताए ।

अस्पतालबाट दैनिक जटिल रोगका बिरामीहरू अन्यत्र पठाउनुपर्ने भएकाले आफ्नै एम्बुलेन्स नहुँदा समस्या परेको उनको भनाई छ ।

‘अस्पतालको आफ्नै एम्बुलेन्स रहेनछ । राति पाल्पा रेफर गरेको बिरामीका लागि दुई घण्टा समस्या भोगेँ । म जस्ता अरुले पनि दुःख पाएका छन् ।’–मदाने गाउँपालिका–३ का रेशम बिकले भने ।

गम्भीर बिरामी पनि सार्वजनिक गाडीमा
सत्यवति गाउँपालिकामा पनि एम्बुलेन्स छैन । अति संवेदनशिल सवारी साधन एम्बुलेन्स गाउँमापलिकामै नहुँदा नागरिक सार्वजनिक सवारी साधनमै जोखिम मोलेर स्वास्थ्य संस्था पुग्ने गरेका छन् ।

जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र सत्यवति गाउँपालिकामै पर्छ । केन्द्रमार्फत दैनिक १ सयभन्दा बढी बिरामीले सेवा लिएका छन् ।

त्यो स्वास्थ्य केन्द्रमा बाहेक अन्यत्र पुग्ने पनि छन् । जुहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रकी डाक्टर शिला ढकालले एम्बुलेन्स नहुँदा धेरै नागरिक मर्कामा परेको बताइन् ।

अक्सिजनको आवश्यक पर्ने बिरामीलाई अन्य सवारी सधानमा राख्न नमिल्ने भएकाले पनि त्यस्ता झनै समस्यामा परेको ढकालले बताइन् ।

अस्पतालको अक्सिजन छुट्याउने बित्तिकै अर्को अस्पतालमा पुग्ने बेलासम्म अक्सिजन आवश्यक भएकाले एम्बुलेन्स अपरिहार्य रहेको उनको भनाई छ ।

एम्बुलेन्स अक्सिजन, छिटो पुग्ने, तयारी अवस्थामा रहने र आर्थिक हिसाबले पनि सहज भएकाले महत्वपूर्ण रहेको ढकालले बताइन् ।

चर्को मुल्य चुकाएर बिरामीलाई अस्पताल पुर्‍याउनु पर्ने बाध्यता
सत्यवति गाउँपालिकामा आठ ओटा वडा रहेका छन् । भौगोलिक हिसाबले पनि विकट भएकाले कुनै दुर्घटना, सुत्केरी, ज्येष्ठ नागरिक र तत्काल स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्ने बिरामीहरूलाई समस्या पर्ने गरेको छ ।

सत्यवति गाउँपालिकाका स्वास्थ्य संयोजक सुर्यबहादुर रानाले एम्बुलेन्सको तुलनामा दोब्बर भाडा अन्य गाडीहरूमा तिर्नुपर्ने अवस्था रहेको बताए ।

‘बिरामी पाल्पा पठाए ४ हजार ५ सय देखि ५ हजारसम्म एम्बुलेन्सले लिने ठाँउमा अन्य गाडीले ८-९ हजार रुपियाँ लिने गरेका छन् ।’–उनले भने ।

सत्यवति गाउँपालिका–७ का वडाध्यक्ष लोकबहादुर बुढाथोकीले गाउँमा सबैभन्दा समस्या सुत्केरीहरूलाई पर्ने गरेको बताए ।

गाउँमा एम्बुलेन्स नभएका कारण गाडी रिजर्भ गर्दा नागरिकले चर्को मुल्य तिनुपर्ने बाध्यता रहेको छ । यो वर्ष एम्बुलेन्स खरिद गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताए । गाउँपालिका उपप्रमुख सुर्वण शाही शेरचनले एम्बुलेन्सको बिषय निकै महत्वको भएको बताउँदै चाँडै व्यवस्था गर्ने बताइन् ।


टोपलाल अर्याल