गुठी समस्याको समाधान वार्ताबाट खोजः मानव अधिकार आयोग

  ०७६ जेठ ३१ गते

राष्ट्रिय मानव अधिकार आयोगले गुठीसम्बन्धीे विधेयकका विषयमा देखिएको असन्तुष्टिको समाधान वार्ता र संवादमार्फत खोज्न सरकारसँग आग्रह गरेको छ ।

गुठीसम्बन्धी विधेयकलाई लिएर आन्दोलन उत्रिएकाहरूलाई सरकारले बल प्रयोग गरेपछि आयोगले जेठ २९ गते एक विज्ञप्ति जारी गर्दै वार्ता र संवादमार्फत असन्तुष्टि हल गर्न सरकारसँग आग्रह गरेको हो ।

आयोगका निर्देशक डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा शान्ति पूर्णरूपमा भेला हुने तथा प्रदर्शन गर्ने नागरिकको अधिकारको सम्मान गर्न आग्रह गरिएको छ ।

घाइतेको स्वास्थ्य उपचार गर्न र दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याई वार्ता गर्न पनि आयोगले सरकारसँग माग गरेको छ ।

सरकारले सङ्घीय संसद दर्ता गराएको गुठीसम्बन्धीे विधेयक खारेजीको माग गर्दै जेठ २६ गते गुठियारले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा प्रदर्शनकारी घाइते भएका थिए ।

साथै आयोगले विरोधका कार्यक्रम संयमित भएर सञ्चालन गर्न प्रदर्शनकारीलाई आग्रह गरेको छ । सांस्कृतिक अधिकार मानव अधिकारकै अभिन्न अङ्ग भएको स्मरण गराउँदै आयोगले परम्परादेखि चलिआएको विभिन्न वर्ग तथा समूहका नागरिकहरूको संस्कृति लोप हुने अवस्था आउन नदिनेतर्फ संवेदनशील हुन सरकारलाई आग्रह गरेको छ ।


विमला पौडेल