गुठी विधेयक खारेजीको मागसहितको प्रदर्शनमा प्रहरीको हस्तक्षेप

  ०७६ जेठ २७ गते

सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका चार जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

गिरफ्तार पर्नेहरूमा डाक्टर महेशमान श्रेष्ठ, कृष्णगोपाल भायो, अनिश वैद्य र विकाश महर्जन रहेका छन् ।

गुठी विधेयकप्रति आपत्ति जनाउँदै जेठ २६ गते बिहान काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरूलाई प्रहरीले पानीको फोहोरासहित धरपकड गर्दा अन्य तीनजना घाइते भएका छन् ।

घाइते हुनेमा महेश्वर रन्जित, कृष्ण मानन्धर र सन्जिव बज्राचार्य रहेका छन् । उनीहरूको अन्नपूर्ण न्युरो अस्पताल र नर्भिकमा उपचार भइरहेको नेवा देशः दबुका अध्यक्ष नरेश ताम्राकारले बताए ।

उनले भने-'शान्तिपूर्ण रूपमा बाजागाजा सहित आन्दोलन गरिरहेका बेला प्रहरीले आफूहरूमाथि ज्यादती गरेको हो ।'

नेवा देशः दबुका अध्यक्ष ताम्रकारले सरकारले भूमाफियालाई बल पुग्ने गरी गुठी विधेयक ल्याएको आरोप समेत लगाए ।

उनले सरकारले ल्याएको अहिलेको विधेयक भनेको अघोषित रूपमा सम्पूर्ण गुठीहरूमा सरकारी संरक्षण गर्न खोज्नु रहेको आरोप लगाए ।

सरकारले राष्ट्रियसभामा दर्ता गराएको विधेयकमा गुठी संरक्षणको प्रावधान नसमेटिएकोले त्यो विधेयक खारेज गर्नुपर्ने माग राख्दै आएको उनको भनाई छ ।

उनले भने-'विधेयक अनुसार गुठी संस्थान प्राधिकरणमा जाँदा सनातन धर्ममा ठूलो धक्का पर्ने भएकाले त्यसलाई सरकारले फिर्ता लिनुपर्छ ।'

गुठी संस्थानलाई खारेज गरेर प्राधिकरण गठन गर्ने प्रावधानप्रति सरकारको गलत नियत रहेको र सरकारले ल्याएको गुठी विधेयक संस्कृति विरोधी र जनता विरोधी रहेको ज्यापू महागुठीका केन्द्रिय अध्यक्ष राजभाई जकनीकले बताए ।


विमला पौडेल