गिट्टी कुट्ने मजदुरको निःशुल्क स्वास्थ्य बिमा

  ०७६ फागुन ३० गते

कमलामाई नगरपालिका सिन्धुलीले गिट्टी कुटेर जीविका चलाउने १२ घर परिवारका ५३ जनाको स्वास्थ्य बिमा गरेको छ ।

सिन्धुलीमाढीको ग्वाङ्गखोलाको किनारमा गिट्टी कुटेर दैनिकी चलाउदै आएका विपन्न मजदुर परिवारको फागुन २९ गते निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो । आर्थिक अभावका कारण स्वास्थ्य उपचार गराउन नसक्ने ८ सय परिवारलाई निःशुल्क बिमा गराउन थालेको नगरपालिकाले जनाएको छ । गिट्टी कुटेर जीविका चलाउनेलाई प्राथमिकतामा राखि गिट्टी कुट्ने स्थानमै गई बिमा गरिदिएको हो । बिमा बापतको वार्षिक ३ हजार ५ सय नगरपालिकाले स्वास्थ्य बिमा बोर्डलाई दिनेछ ।

photo20200313Sindhuli (2)

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन नगरपालिकाले सम्मान गरेका मजदुर महिलाहरूले स्वास्थ्य बिमामा सहभागी नभएको गुनासो गरेका थिए । नगरपालिकामा रहेर गिट्टी कुटेर जीविका चलाउने अतिविपन्न सबैको बिमा गरिने कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताउनु भयो ।

खत्री आफैं गिट्टी कुट्ने मजदुरको कार्यस्थलमै पुगेर बिमा गराउनु भएको थियो । कमलामाई नगरपालिका घर भई, पैसाको अभावमा स्वास्थ्य उपचार गर्न नपाई दुःख पाउने स्थिति सृजना हुन नदिन बिमा कार्यक्रम लागु गरिएको मेयर खत्रीले बताउनु भयो । नगरपालिकाले नीति तथा कार्यक्रममै मजदुरलाई निःशुल्क बिमा गर्ने कार्यक्रम ल्याई चालु वर्षको हालसम्म ४ सय ६ घरपरिवारका १ हजार ८ सय ९८ जनाको स्वास्थ्य बिमा गरिसकेको छ ।


बिमला पाण्डे