गिट्टी कुटेर परिवार पाल्न बाध्य छन्– अपाङ्गता भएका व्यक्ति

  ०७६ फागुन १३ गते

बनगाड कुपिण्डे नपा–१ निवासी ३९ वर्षीय देवबहादुर बुढा क्षेत्री शारीरिक रुपले अशक्त हुनुहुन्छ । उहाँले भेरी किनारमा दैनिक गिट्टी कुटेर जीवन निर्वाह गर्दै आउनु भएको छ । जन्मजात दुबै खुट्टा गुमाएका उहाँलाई आफूसहित चार जनाको जिम्मेवारी निर्वाह गर्नुपर्ने बाध्यता रहेको छ ।

अपाङ्गता देवबहादुरले गिट्टी कुटेर चार जनाको परिवार पाल्दै आएको बताउनु भयो । विगत ६ वर्ष देखि निरन्तर रुपमा लठ्ठीको साहारामा हिडडुल गर्ने उहाँले आफूले चार जना परिवार पाल्नुपर्ने बाध्यता रहेको बताउनुहुन्छ ।

गिट्टी बालुवा बेचेर चारजनाको परिवार पाल्नेदेखि छोराछोरीको पठनपाठनमा समेत गर्ने गरेको उहाँको भनाइ छ । गिट्टीकै साहारामा छोरा कक्षा पाँच र छोरी कक्षा नौ मा अध्ययन गराई रहेको उहाँले बताउनु भयो ।
दुवै खुट्टा पूर्ण अपाङ्ग भएका देवबहादुरलाई राज्यले दिएको अपाङ्गता भत्ता १ हजार ६ सय रुपियाँले खाना लाउन नपुगेपछि गिट्टी कुटेर जीवनयापन गर्ने गरेको उहाँले दुखेसो पोख्नुभयो । ‘ख’ वर्गको परिचय–पत्र भएकाले अपाङ्गता भत्ता समेत कम भएको बुढाको गुनासो छ । देवबहादुरको बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म गिट्टी कुटेर दिन बित्ने गरेको छ ।

मजदुरी गरेर अन्य सम्पत्ति जोडन त परै जाओस खानलाउन समेत हम्मे हम्मे भएको उनको परिवारले पीडा पोख्यो । जति सुक्कै जाडो होस वा चर्को गर्मी भए पनि अपाङ्गता देवबहादुर दिनभर गिट्टी कुटेरै दिन बित्ने गरेको छ ।

देवबहादुरकी पत्नी चन्द्रमति बुढाले कक्षा आठसम्मको पढाई गरेपनि कतै काम नपाएकाले समस्या भएको उहाँको भनाइ छ । सामान्य लेखपढ गर्न जानेको छु, स्थानीय सरकारको पालामा कहीँकतै कार्यालय सहयोगी जस्ता काम पाएमा समस्या समाधान हुने थियो, चन्द्रमति भन्नुहुन्छ, ‘दिनभरी दुबैजनाले भेरी किनारमा गिट्टी कुट्नु पर्ने बाध्यता छ ।’

दिनभरमा तीन/चार बोरा गिट्टी कुटेर बजारमा निर्माणाधिन घर निर्माण कर्तालाई बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । अन्य आम्दानीको उपाय केही नभएपछि सबै परिवारले मजदुरी गररे साँझ बिहानको छाक टार्नु परेको देवबहादुरको पत्नी चन्द्रमति बुढाको भनाई छ ।

सल्लीबजारमा निर्माणाधिन पक्की घर र योजना निर्माणकर्ताले गिट्टीको लागि आफूहरूसँग सम्झौता गर्ने गरेको उहाँले बताउनु भयो । एक बोरा गिट्टीको ६० रुपियाँका दरले बिक्री गर्ने गरेको जानकारी दिदै उहाँले प्रति ट्याक्टर ६ हजारका दरले र बालुवा प्रति ट्याक्टर २ हजार रुपियाँका दरले बिक्री गर्ने गरेको बताउनुभयो ।

85127220_273857453586087_8331229384409088000_n (1) 86263801_633895357421832_8544776330892279808_n


मिना बुढाथोकी