गाउँलेको कुटपिटबाट दुई प्रहरी घाइते, चार राउण्ड हवाइ फायर

  ०७७ असोज २८ गते

राजविराज नपा–४ निवासी जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय कमलदेव यादव र सिरहा जिल्ला लहान नपा–१ निवासी प्रहरी जवान २७ वर्षीय दिपेन्द्र साहलाई राजविराज नपा–१३ मुसहर्नियामा असोज २७ गते राति गाउँलेहरूले कुटपिट गरी घाइते बनाएका छन् ।

कुटपिटबाट घाइते यादव र साहको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ । साहको टाउकोमा सात ओटा टाँका लगाइएको छ ।
photo20201014saptari
गाउँले प्रहरीमाथि जाइलाग्दा चार राउण्ड हवाइ फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

अवैध समान ओसारपसार भइरहेको सूचनाका आधारमा ड्युटीमा खटी मुसहर्निया पुगेर समानसहितको बोरा बरामद गर्न खोज्दा गाउँलेले कुटपिट गरेको घाइते साहले बताउनु भयो ।

अवैध समान बरामद गर्न खोज्दा गाउँलेहरुले घेरा हाली आक्रमण गरेको घाइते जवान साहको भनाइ छ ।

साहका अनुसार झडपपछि घरेलु हतियारसहित आएका थप २०–२५ जना स्थानीयवासीले धारिलो हतियारले आक्रमण गरेका थिए ।

आक्रमणकारीले प्रहरी हवल्दार यादवको ८ हजार ५ सय रुपियाँ नगद र साहको मोबाइलसमेत लुटेका उहाँको भनाइ छ ।

उनीहरूले खोसेको हतियार र प्रयोग गरेको एउटा मोटरसाइकल घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ ।

टाउकोमा प्रहार गरेको खुकुरीले प्रहरी जवान साह रक्ताम्य भएपछि हवाइ फायर गर्नु परेको प्रहरी हवल्दार यादवले बताउनु भयो ।


मनोहरकुमार पोखरेल