गाउँमै गएर अनुदान वितरण गर्न पुननिर्माण प्राधिकरणको निर्देशन 

  ०७३ मङ्सिर ६ गते

अति दुर्गम चार गाविसका भूकम्प पीडितहरूलाई गाउँमै गएर अनुदान वितरण गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, ओखलढुङ्गालाई परिपत्र गरेको छ ।

गाउँमा अनुदान वितरण गर्न बैङ्कहरूले असुरक्षा हुने भनेपछि एक नगरपालिका र ४६ गाविसमा भने सदरमुकामबाटै अनुदान वितरण भइसकेको छ । ओखलढुङ्गाका गाम्नाङटार, पोकली, टारकेराबारी र रगनीका भूकम्प पीडितहरूलाई शिविर आयोजना गरि अनुदान वितरण गरिने तयारी गरिएको प्रजिअ अधिकारीले एकदेव अधिकारीले बताए । अनुदान निकासा गरिएका १७ हजार ३ लाभग्राहीमध्ये रगनीका ७ सय ५५, पोकलीका ४ सय ९२, गाम्नागङ्टारका ५ सय ४४ र टारकेराबारीका ४ सय ३१ परिवारले अनुदान पाएका छैनन् । कतिपयले सदरमुकाम नै गएर अनुदान लिए पनि गाउँमै शिविर आउने हल्ला चलेपछि पीडितहरू अनुदान लिन सदरमुकाम आएका थिएनन् । अनुदान लिन आएकाहरूलाई समेत दलका नेता र गाविस सचिवले 'गाउँमै आउँछ' भन्दै फर्काएका थिए ।

गाउँमै शिविर सञ्चालन गरेर अनुदान वितरण गर्न सांसदहरूले समेत माग गरेपछि जिल्ला दैवी प्रकोप उद्दार समितिले पुननिर्माण प्राधिकरणलाई सोको व्यवस्था गरिदिन माग गरेको दुई महिनापछि प्राधिकरणले परिपत्र गरेको हो ।


शिवप्रसाद ढुङ्गाना