गाउँमा प्रसूति सेवा केन्द्र नहुँदा सुत्केरी गराउन हेलिकप्टरबाट काठमाडौँ लैजानुपर्ने वाध्यता

  ०७६ जेठ ६ गते

उमाकुण्ड गाउँपालिकाको दुर्गम वडा गुम्देलमा रहेको स्वास्थ्य चौकीमा प्रसूति सेवा सञ्चालन  नहुँदा गर्भवती महिलाहरूको ज्यान जाने खतरा बढ्दै गएको छ ।

गर्भवती महिला सहज रूपमा सुत्केरी हुन नसकेपछि सो ठाउँका महिलाहरूलाई सुत्केरी गराउन ठूलो खर्च गरेर हेलिकप्टरबाट काठमाडौँ लैजानु पर्ने बाध्यता स्थानीयको रहेको छ ।

उमाकुण्ड गाउँपालिकाको–१ गुम्देल जिल्लाकै सबैभन्दा दुर्गम स्थान हो । हिमालसँगै जोडिएको सो वडामा हिउँद महिनामा गाडी पुगेपनि वर्षा याममा यातायात चल्दैनन् ।

हिउँदमा साना गाडीहरू पुगेपनि वर्षामा कुनै पनि यातायात साधन नचल्ने वडा अध्यक्ष नुर्वु शेर्पाले बताए ।

वर्षा याममा गाडी चल्ने ठाउँसम्म पुग्न गुम्देलका बासिन्दहरूले एक दिन र एक बिहान हिँड्नु पर्ने उनले बताए ।

हिउँदमा पनि सदरमुकाम मन्थलीबाट गुम्देल पुग्न जिपमा नै कच्चि बाटोमा एक दिनभरिको यात्रा गर्नु पर्ने उनको भनाई छ ।

यातायात सञ्जालमा नजोडिएको गुम्देलमा स्वास्थ्य सेवा समेत प्रभावकारी छैन । वडामा रहेको एक मात्र स्वास्थ्य चौकीमा हालसम्म प्रसूति सेवा सञ्चालनमा छैन ।

प्रसूति सेवा सञ्चालन नहुँदा जटिल खालको प्रसूति समस्या आएमा कि त महिलाको ज्यानै जाने वा कि हेलिकप्टर चार्टर गरेर काठमाडौँ लैजानु पर्ने बाध्यता रहेको गुम्देलीकी बासिन्दा समेत रहेकी उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला बस्नेत कार्कीले बताइन् ।

‘यस वर्ष मात्र सुत्केरी व्यथा लागेर बच्चा जन्माउन नसकेपछि गुम्देलका तीन जना गर्भवती महिलालाई हेलिकप्टरबाट काठमाडौँ लगी सुत्केरी गराइएको छ । एउटा हेलिकप्टर चार्टर गर्दा १ लाख रुपियाँदेखि १ लाख ५० हजार रुपिँया खर्च हुन्छ ।’–उनले भनिन् ।

सो गाउँपालिका–५ प्रितिमा पनि प्रसूति सेवा सहितको स्वाथ्य केन्द्र छैन । यहाँका महिला समेत प्रसूति हुन अर्काे वडाको स्वास्थ्य चौकीसम्म पुग्नु पर्ने वाध्यता छ ।

गाउँपालिकाले विभिन्न संस्थाहरूसँगको सहयोग र सहकार्यमा प्रसूति सेवा केन्द्र बनाउन पहल सुरू गरेको कार्कीले बताइन् । तर, अझै पनि प्रसूति सेवा सञ्चालन हुन केही समय लाग्ने उनी बताउँछिन् ।


नवराज पथिक