गाउँमा औषधि र स्वास्थ्यकर्मी नहुँदा उपचारका लागि 'हेलिकप्टर चार्टर'

  ०७३ माघ ६ गते

गाविसमा औषधि र स्वास्थ्यकर्मी नहुँदा महङ्गो रुपियाँ खर्चेर 'हेलिकप्टर चार्टर' गरी उपचार गर्नु परेको लिमीका स्थानीयले गुनासो गरेका छन् ।

दुईतले घरको भर्‍याङ्बाट लडेर ढाडमा गम्भीर असर परेर सख्त घाइते भएकी पीडित लिमी गाविस-५ की ७० वर्षीया कुञ्जे लामाको ज्यान जोखिममा परेपछि उनका परिवारले ६ लाख ७५ हजार रुपियाँ खर्चेर काठमाडौँबाट हेलिकप्टर चार्टर गरी माघ ४ गते उपचारका लागि काठमाडौँ लगिएको पीडितका आफन्त तेञ्जीङनुर्वु तामाङले बताए ।

पीडित महिलालाई गत पुस २० गते चोट लागेपनि स्वस्थ्य चौकीमा औषधि र स्वास्थ्यकर्मी नभएकाले समस्या भएको तेञ्जीङनुर्वुले बताए । सो गाविसमा ६ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि स्वास्थ्यचौकीमा एक जना पनि स्वास्थ्यकर्मी नबस्दा स्थानियबासी मर्कामा परेको तेञ्जीङको गुनासो रहेको छ ।

'जिल्लामा सामान्य बिरामीको उपचार हुन सक्दैन भने यो त हड्डीसम्बन्धीको बिमार हो । झन् कसरी उपचार हुन सक्छ - जिल्लाको जनस्वास्थ्य कार्यलयसमेतको विश्वास नहुँदा काठमाडौँ पठाउनु परेको हो ।'-लामाले बताए ।

जिल्ला जनस्वास्थ्य कार्यलय हुम्लाका निमित्त प्रमुख ध्रुव सिंहका अनुसार आफूलाई बिरामीको बारेमा कुनै जानकारी नदिएरै जिल्ला बाहिर लगिएको बताए । ५२ कोष टाढा रहेको लिमी गाउँमा स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र औषधि नभएकाले उपचारबाट वञ्चित भएको उनले बताए ।

नजिकै स्वास्थ्य संस्था नहुँदा ढाडमा चोट लागेकी बिरामीले शरीर चलाउनै नसक्ने भएपछि काठमाडौँबाटै व्यक्तिगत रूपमा हेलिकप्टर चार्टर गरी हुम्लाको लिमी गाविसमा 'टेकअप' गर्राई माघ ४ गते बिरामी महिलाको ज्यान बचाउन काठमाडौँ लानुपरेको पीडितका आफन्तले बताएका छन् । काठमाडौँको मेडिकेयर नेशनल हसिपटल एण्ड रिर्सच सेन्टरमा पीडित महिलाको उपचार भइरहेको आफन्तले बताएका छन् ।

यसअघि पनि लिमीकी एक महिलालाई प्रसूति व्यथा लागेपछि गाउँमा उपचार हुन नसकेर हेलिकप्टर चार्टर गरी काठमाडौँमा लगेर उपचार गराइएको थियो ।


नन्द सिंह