गाउँबासी, प्रहरी र इन्सेकको पहलमा बालविवाह रोकियो

  ०७७ साउन ३१ गते

अग्निसाईर कृष्णसवरण गाउँपालिका४ बनौलीकी १६ वर्षीया बालिका र विष्णुपुर गाउँपालिका६ रञ्जितपुरका ३२ वर्षीय बिन्देश्वर दासबीच साउन ३० गते हुन लागेको बालविवाह गाउँबासी, प्रहरी र इन्सेकको पहलमा रोकिएको छ ।

बालिकाका आफन्त, गाउँलेहरूको प्रयास तथा प्रहरी र इन्सेकको सहयोगमा हुनै लागेको बालविवाह रोकिएको पीडितका दाजु सञ्जयकुमार दासले बताउनु भयो ।

बालविवाह हुन लागेको सूचना दिनुहुँदै बालिकाका दाजु अजयकुमार दासले इन्सेक सप्तरीको कार्यालयमा आएर साउन ३० गते बिहान इन्सेक प्रतिनिधिसँग आग्रह गर्नु भयो ।

विवाहको साडीमा सजिएकी बालिकालाई बिवाहस्थल लैजान बेहुला पक्षले पठाएको कार गाउँलेहरूले रित्तै फर्काइ दिएको र विवाह रोकेको गाउँलेहरूले बताए ।

इन्सेक प्रतिनिधिले प्रहरी चौकी डिमनका प्रहरी हवल्दार महेशप्रसाद बैठालाई फोन गरी बालविवाह रोक्न र लुकीछिपी हुन सक्ने विवाहमा निगरानी राख्न आग्रह गर्नु भयो ।

बालिकाको घर पुगेका प्रहरी हवल्दार वैठाले गाउँलेहरूले नै बालविवाह रोकेको र आफूले उमेर नपुगी बालिकाको विवाह गरेमा कानुनी कारवाही हुने भन्दै कानुनी व्यवस्थाबारे अभिभावकहरूलाई सम्झाएको फोनमार्फत इन्सेक प्रतिनिधिलाई जानकारी दिनु भयो ।

दाइजो बिना नै विवाहका लागि युवकको परिवार तयार भएकाले उमेरको ख्यालै नगरी बालिकाको विवाह गर्न राजी भएकोमा गाउँलेहरूले सम्झाएपछि विवाह नगर्ने निर्णयमा पुगेको बालिकाका बुबाले बताउनु भयो ।


मनोहरकुमार पोखरेल