गाउँपालिका सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित

  ०७६ मङ्सिर २८ गते

काभ्रेको दुर्गम मानिने तेमाल र महाभारत गाउँपालिकाका सबै वडामा सचिव नहुँदा स्थानीय सरकारको काम प्रभावित भएको छ ।

यी गाउँपालिकामा नयाँ संरचना सुरू भएदेखि सचिवको अभाव भएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

थोरै भएका सचिवहरू पनि कर्मचारी समायोजनसँगै बढुवासहित अन्यत्रै गएपछि गाउँपमलिकाको सबै वडा कार्यालय सचिवविहीन भएका छन् ।

दैनिक प्रशासनिक काम गर्ने सचिवहरू नहुँदा स्थानीय सरकारबाट सेवा प्राप्त गर्ने सेवाग्राही समस्यामा परेका छन् ।

डाँडापारी भेगमा पर्ने अर्को स्थानीय तह खानीखोला गाउँपालिकामा पनि नेपाल सरकारले तोकेको दरबन्दी अनुसार वडामा सचिव नहुँदा जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइसराई, नागरिकताको सिफारिस, सामाजिक सुरक्षा भत्ता वितरण लागायतका कामकाज प्रभावित भएको गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष मानबहादुर गोलेले बताए ।

त्यस्तै समस्या झेलिरहेको तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेलले पटक–पटक दरबन्दी अनुसारका सचिवहरू पठाउन आग्रह गर्दा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुनै सुनुवाइ नगरेको बताउनुभयो । उहाँले सचिव पठाउन अनुरोध गर्दै पछिल्लो पटक असोज २८ गते पत्राचार गर्नुभएको थियो ।

महाभारत गाउँपालिकामा भएको सबै आठ ओटा वडामा एकजना पनि वडा सचिव छैनन् । ‘सचिव नभएपछि काम गर्न निकै गाह्रो भइरहेको छ ।’–गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो–‘सरकारी सुविधा गाउँघरमा पुगेको भए पनि काम गरिदिने मान्छे नभएपछि जनताले कसरी महशुस गर्छन् होला ? स्वभाविक हो जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।’

त्यसैगरी १२ ओटा वडा रहेको रोशी गाउँपालिकामा चार जना मात्रै वडा सचिव कार्यरत रहेका गाउँपालिका अध्यक्ष डिवी लामाले बताउनुभयो । बेथानचोक गाउँपालिकाका ६ ओटा वडामध्ये तीन ओटा वडा कार्यालयको व्यथा उस्तै छ ।

कोशीपारी क्षेत्रको भुम्लु गाउँपालिकाको १० ओटा वडा कार्यालयमध्ये चार ओटा वडामा मात्रै सचिव कार्यरत छन् ।

कोशीपारीकै चौरीदेउराली गाउँपालिकाको नौ ओटा वडामध्ये दुई ओटा वडाका सचिवबाटै काम चलाइँदै आएको छ । बाँकी रहेका सबै वडा लामो समयदेखि सचिवविहीन छन् ।

सचिव भएका स्थानीय तहमा पनि वडामा खटिनुपर्ने स्थानमा नगई गाउँपालिकाको बैठकमा मात्रै उपस्थित हुने गरेका छन् ।

डाँडापारिको खानीखोला गाउँपालिकाले यस्तो समस्या व्यहोर्दै आएको छ । ‘सचिवको दरबन्दी भए पनि वडामा भने कुनै पनि सचिव नियमित बस्ने गरेका छैनन् । हाम्रो पालिकाको एउटा मात्रै वडामा सचिव छैन ।’–खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेले भन्नुभयो–‘सविच त छन् तर भएका वडा सचिव पनि वडा कार्यालय बस्दैनन् ।’

उहाँ भन्नुहुन्छ–‘जनताको काम कसरी गर्ने ? काम गर्ने कर्मचारी नभएपछि अपजस जति सबै हामी जनप्रतिनिधिले खेप्नु परिहेको छ ।’

जिल्ला समन्वय समिति काभ्रेकी उपप्रमुख मञ्जु गौतमले खाली भएका वडाहरूमा सचिव पठाउनकका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरिरहेको बताउनुभएको छ । काभ्रे जिल्लाका सात ओटा गाउँपालिकामा जम्मा ६१ ओटा वडा कार्यालय रहेका छन् ।


हिरामान लामा