गाउँपालिका केन्द्रबाटै सेवा दिन माग, दुई जना गिरफ्तार

  ०७६ असोज २६ गते

स्थानीय तह पुनर्संरचनाका समयमा तोकिएको गाउँपालिका केन्द्रबाट नै सेवा प्रवाहको माग गरिरहेका दुई जनालाई प्रहरीले असोज २५ गते गिरफ्तार गरेको छ ।

पुनर्संरचनाका समयमा डिलाशैनी गाउँपालिको केन्द्र वडा नम्बर ७ मा तोकिएको थियो । सोही ठाउँबाट सेवा प्रवाह गर्न सङ्घर्ष समिति गठन गरी माग गरिरहेका समितिका संयोजक ३० वर्षीय जयराज जोशी र ३२ वर्षीय वीरेन्द्रबहादुर धामीलाई प्रहरीले गिरफ्तार गरेको हो ।

असोज २४ गते सङ्घर्ष समितिको पुर्व निर्धारित कार्यक्रम अनुसारनै डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वर बजारमा कोणसभा गरेपछि गाउँपालिका अध्यक्षविरूद्ध बोलेको भन्दै प्रहरीले आफूहरूलाई गिरफ्तार गरेको समितिका संयोजक जोशीले बताए ।

कोणसभामा गाउँपालिका अध्यक्ष र नेकपाका जिल्ला अध्यक्षलाई गाली गरेको भन्दै नेकपाका कार्यकर्ता नरेन्द्र नाथले दिएको निवेदनका आधारमा उनीहरूलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बैतडीका डिएसपी डिल्लीनारायण पाण्डेयले बताए ।

शान्तिपुर्ण तरिकाले कोणसभा गरेको भएपनि प्रहरीले आफूहरूलाई गिरफ्तार गरेको पीडितद्वयको आरोप  छ ।

वीरेन्द्रसिंह धामीले भने –‘यदि हामीले गाउँपालिका अध्यक्ष र पार्टी अध्यक्षलाई गाली गरेको भए हामी जुनसुकै कारबाही पनि भोग्न तयार छौँ । दुई वर्षसम्म तोकिएको केन्द्रबाट सेवा नदिएपछि हामीले नेतृत्वको आलोचनामात्रै गरेका हौँ । आलोचनाकै आधारमा हामीलाई गिरफ्तार गरियो ।’ गिरफ्तार भएका दुवै जना नेकपाकै कार्यकर्ता हुन् ।

तत्कालीन समयमा तोकिएको केन्द्रमा कार्यालय भाडामा लिई पछि डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको विद्यालयमा कार्यालय सारेको सङ्घर्ष समितिको आरोप छ ।

‘उतिबेला अहिले ७ नम्बरबाट सेवा दिन गारो भयो । कर्मचारी जान मान्दैनन् । केही समयका लागि वडा नम्बर ३ बाट सेवा दिन्छौँ भनेपनि अहिले आफू निकट विज्ञ टोली बोलाई नेकपाका अध्यक्षको घर नजिकै ३ नम्बर वडामै केन्द्र राख्ने जालझेल भइरहेको छ ।’–सङ्घर्ष समितिका संयोजक जयराज जोशीले भने ।

गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले भने यस बारेमा आफूलाई थाहा नभएको बताएका छन् । उनले भने–‘हिजो सङ्घर्ष समितिको कोणसभा थियो भन्ने सुनेको थिएँ । कोणसभामा पार्टी अध्यक्ष र मलाई गाली गरेपछि कार्यकर्ताहरूले निवेदन दिएको हुनुपर्छ ।’

गाउँपालिकाले मगाएको विज्ञ टोलीले वडानम्बर ३ मै केन्द्र हुन आवश्यक भएको प्रतिवेदन दिएपछि वडानम्बर ७ र अन्य वडाका स्थानीयले एक महिनादेखि आन्दोलन गरिरहेका छन् ।


नरी बडु