गाउँपालिकाले एक वर्षसम्म सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो

  ०७७ असोज २० गते

आर्दश कोटवाल गाउँपालिकाको कार्यालयले गत आर्थिक वर्षमा पाउनुपर्ने एक वर्षको सामाजिक सुरक्षा भत्ता वितरण नगरेको लाभग्राहीले असोज १८ र १९ गते गाउँपालिकाको कार्यालयमा आएर गुनासो गरेका छन् ।

२०७७ असार मसान्तसम्ममा आर्थिक वर्ष २०७६/०७७ को सामाजिक सुरक्षा भत्ता नपाएको सोही गाउँपालिका–१ चिउताहाका ७५ वर्षीय गणपत महरा चमारले बताउनु भयो ।

सोही ठाउँका ७३ वर्षीय मिश्री साह, ७१ वर्षीया अनियादेवी अहिरिन, ४५ वर्षीया एक महिला अनितादेवी चमइन, ७१ वर्षीय हिनकरसाह कानु, ६० वर्षीया एकल महिला अकली देवी, ६७ वर्षीया एकल महिला फुलेसरी कनुइन, ७० वर्षीया पवलीयादेवी विन, ६८ वर्षीया पानवा कुर्मीनी, ७० वर्षीया बलवेसिया देवी, ६० वर्षीया एकल महिला राधिका कुर्मी, ६० वर्षीया मैना कोइरिन, ६० वर्षीय शङ्कर दास, ३९ वर्षीया एकल महिला मतिसर देवी र ७० वर्षीय जोखु महतोलगायत १५ जनाले गाउँपालिकाकोे कार्यालयले सामाजिक सुरक्षा भत्ता नदिएको गुनासो गर्नु भएको छ ।

सामाजिक सुरक्षा भत्ता लिएपछि औषधि उपचार गर्न सोचेकामा पैसा नभएकाले औषधि खान नपाएको ज्येष्ठ नागरिकहरूको गुनासो छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले सामाजिक सुरक्षा भत्ता समयमा वितरण गर्ने प्रतिबद्धता गरेपनि हालसम्म वितरण नगरेको अनियादेवी अहिरिनले आरोप लगाउनु भयो ।

आर्दश कोटवाल गाउँपालिका वडा नं. १ का अध्यक्ष राजेन्द्र राउत कुर्मीले वडामा १५ जनाको भत्ता वितरण गर्न छुटेको बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले कागजात जुटाउन नसकेर वा फोटाहरू नचिनेर भत्ता वितरण छुट भएको बताउनु भयो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका पञ्जिकरण अधिकृत सुनिल थापाले गत आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट माग भएर नआएकाले २० जनालाई वितरण गर्न नसकेको बताउनु भयो ।

वडा कार्यालयबाट माग गरेपछि माग फारम विभागमा बुझाएर सामाजिक सुरक्षा भत्ता माग गरेको उहाँले बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साहले छुट भत्ता माग गरेको फाइल विभागमा दर्ता भएकाले वितरण हुने बताउनु भयो ।


भोलानाथ पौडेल