गाउँपालिकामा कर्मचारी अभाव हुँदा सेवाग्राही मर्कामा

  ०७४ चैत १८ गते

पूर्वी रूकुमको पुथाउत्तरगङ्गा गाउँपालिका कार्यालय र अन्तर्गतका १४ वटै वडा कार्यालय कर्मचारीविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलक रावत र लेखापाल रूकुम पश्चिमको सदरमुकाम मुसिकोटमा रहेको कार्यालयमै बस्ने गरेको र अन्य वडामा पनि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

गाउँपालिकाका १४ वटा वडा मध्ये १० नम्बर वडा कार्यालयमा मात्रै वडा सचिव भएपनि अहिले उनीपनि घरबिदामा हुँदा गाउँपालिका नै कर्मचारीविहीन भएको हो ।

साविकका हुकाम, रन्मामैकोट, तकसेरा, जाङ, कोल र राङसी गरी ६ गाविस मिलाएर पुथाउत्तरगङ्गा गाउँपालिका बनाइएको छ । साविकका गाविस मिलाएर गाउँपालिका बनाएदेखि नै यस गाउँपालिकामा पर्याप्त कर्मचारी छैनन् । तत्कालीन गाविसका पाँच जना गाविस सचिवमध्ये ज्येष्ठताका आधारमा तिलकबहादुर रावत निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएपछि १४ वडाको काम ४ जना सचिवको भरमा चल्दै आएको थियो ।

चार जना वडा सचिवमध्ये पनि एक जनाको बढुवा, एकजनाको रूकुम पश्चिम र अर्का एक जनाको जाजरकोट सरूवा भएपछि गाउँपालिका एक जना वडा सचिवको भरमा चल्दै आएको थियो । उनी पनि घर बिदामा बसेपछि गाउँपालिका खाली छ ।

वडा सचिव नहुँदा साधारण सिफारिसदेखि पञ्जीकरणलगायतका काममा ढिलासुस्ती भइरहेको ९ नम्बर वडा अध्यक्ष सुरबहादुर रोकाले बताए । गाउँपालिका अध्यक्ष ओमप्रसाद घर्ती मगर पनि हाल गाउँपालिकामा छैनन् ।

उपचारका लागि भन्दै तीन साताअघि काठमाडौँ गएका घर्ती गाउँ फर्केका छैनन् । अध्यक्ष र कर्मचारी नहुँदा गाउँपालिकाबाट पाउनुपर्ने सेवा ठप्प रहेको स्थानीय कसम पुनले बताए ।

आर्थिक वर्षसकिने बेला भइसक्दा पनि गाउँपालिकाबाट विनियोजित बजेटबाट काम भए/नभएको अनुगमन तथा भुक्तानीलगायतका काम सुरू हुन नसकेको उनको भनाइ छ ।


मनिषा केसी