गाउँपालिकामा औषधि नपुग्दा बालबालिका भिटामिन ‘ए’ खानबाट वञ्चित

  ०७६ कात्तिक १४ गते

सरकारले कात्तिक १ र २ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।

तर, हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिकाका बालिबालिका भने समयमै भिटामिन ‘ए’ र जुकाको औषधि खानबाट वञ्चित भएका छन् ।

जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाउने भनिएता पनि समयमै औषधि नपुग्दा हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेका २ हजार घरधुरीका करिब ३ सय बालबालिका औषधि खानबाट वञ्चित भएका हुन् ।

पछिल्लो समय यो कार्यक्रम स्थानीय तहलाई नै हस्तान्तरण गरेपछि खार्पुनाथ गाउँपालिकाका प्रतिनिधिले समयमै औषधि नपु¥याएपछि बालबालिका सो खानबाट वञ्चित भएका हुन् ।

संविधानको धारा ३१ को उपधारा (२) मा प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ भनिएको छ ।

कर्मचारीको कमजोरीले गर्दा सो गाउँपालिकाका बालबालिकाले भिटामिन ‘ए’ समयमै खान नपाएको  स्थानीय दिनेश जेठाराले बताए ।

अन्य गाउँपालिकामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइसकेको भएपनि खार्पुनाथमा अहिलेसम्म औषधि नखुवाएको जेठाराले बताए ।

जिल्लाका सबै स्थानीय तहहरूमा औषधि पठाइसकेको जिल्ला अस्पताल, हुम्लाका डाक्टर टर्सी लामाले बताए ।

डाक्टर लामाका अनुसार हुम्लाका अन्य गाउँपालिकाका प्रतिनिधि समयमै औषधि लिन पुगेपनि खार्पुनाथ र अदानचुली गाउँपालिकाका प्रतिनिधि ढिलो पुगेका थिए ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले गाउँपालिकामा कर्मचारी अभावले समस्या भएको बताए । ‘समायोजनले गर्दा कर्मचारी कार्यालयमा नआएपछि यो समस्या आएको हो ।’–अध्यक्ष रावलले भने । गाउँपालिकामा औषधि ल्याइसकेको जानकारी दिँदै रावलले अब छिटै औषधि खुवाउने बताए ।


नन्द सिंह