गाउँपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिकले पाएनन् सामजिक सुरक्षा भत्ता

  ०७६ कात्तिक १८ गते

गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता माग नगर्दा त्रिपुरासुन्दरी गाउँपालिकामा रहेका ज्येष्ठ नागरिकहरूले गत साउन महिनादेखिको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन्  ।

सरकारले तीन-तीन महिनामा वितरण गर्दे आएको सामाजिक सुरक्षा भत्ता कर्मचारी र स्थानीय जनप्रतिनिधिको लापरवाहीका कारण ५ सय ९९ जना महिला र ४ सय ७५ पुरुष गरी १ हजार ७४ जना ज्येष्ठ नागरिकहरूले समयमा भत्ता पाउन नसकेको त्रिपुरासुन्दरी गाउँपालिका–३ का शिव कार्कीले बताए ।

गाउँपालिकाका कर्मचारी र स्थानीय जनप्रतिनिधिले ज्येष्ठ नागरिकको विषयमा लापरवाही गरेकै कारण समयमा नै सामाजिक सुरक्षा भत्ता नपाएको कार्कीले आरोप लगाए ।

गाउँपालिकाको कार्यालयले समयमा नै कोष तथा लेखा नियन्त्रण कार्यालयमा रकम माग नगरेकाले ज्येष्ठ नागरिकहरूले समयमा सामाजिक सुरक्षा भत्ता नपाउँदा मर्कामा परेको गुनासो ज्येष्ठ नागररिकको रहेको छ ।

सरकारले दिँदै आएको भत्ताले आफ्नो जिवन निर्वाह गर्दै आएकी त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्करकी ७८ वर्षीया सुन्तली थामीले गत साउनदेखि भत्ता नपाउँदा कष्ट भएको गुनासो गरेकी छन् ।

अघिल्लो आर्थिक वर्षहरूमा तीन–तीन महिनामा वडा अध्यक्ष र वडा सचिव घरघर गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको तर यस वर्षमा भने साउन महिनादेखि गाउँपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता नपठाएकाले आफ्नो वडामा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नपाएको सोही गाउँपालिका–३ धुस्कुनका वडा अध्यक्ष सुकदेव रिसालले बताए ।

गाउँपालिकामा जनशक्तिको अभावका कारण समयमा सामाजिक सुरक्षा भत्ता माग गर्न नसकिएको त्रिपुरा सुन्दरी गाउँपालिकाका अधिकृत भक्त थामीले बताए ।

काम गर्ने क्रममा केही त्रुटि हुन गएकाले यस्ता त्रुटिलाई सच्याएर आगामी दिनमा यस्तो ढिलासुस्ती नहुने र सामाजिक सुरक्षा भत्ता तत्काल नै सबै वडाहरूमा वितरण गर्ने गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए ।

६ ओटा वडा रहेको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा बैङ्किङ पद्धतिबाट सामाजिक सुरक्षा भत्ता  वितरण गरिने र वडा नं. १, २ र ३ मा वडा सचिवमार्फत नै वितरण गरिँदै आएकोमा  बाँकी वडामा आउँदा दिनमा बैङ्किङ पद्धति अवलम्बन गरिने भएकाले पनि सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको अध्यक्ष श्रेष्ठले बताए ।


नातिबावु धिताल