गाउँपालिकाको गाडीमा अज्ञात पक्षबाट आगजनी

  ०७६ साउन २६ गते

बङ्गलाचुली गाउँपालिकाको एउटा बोलेरो डवल क्याव जीपमा अज्ञात पक्षबाट आगजनी भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओली चढ्ने रा १ झ १५२ नम्बरको उक्त जीपमा साउन २६ गते बिहानको राति करिब पौने १ बजेतिर आगजनी भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले बताए ।
photo20190811dang
बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीस्थित वडा कार्यालय परिसरमा पार्किङ गरेर राखिएको उक्त जीपमा अज्ञात पक्षले आगजनी गरेको हो ।

आगजनीबाट जीप पूर्णरूपले जलेर नष्ट भएको प्रहरीले जनायो । आगजनी भएको थाहा भएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट गएको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमा लिएको प्रहरीले जनायो ।

आगजनी गर्नेहरूको पहिचान नभएपनि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूले नै उक्त आगजनी गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको एसपी पाण्डेले बताए ।


जे.एन.सागर