गाउँपालिकामा सचिवको कमी हुँदा सेवाग्राही मर्कामा

  ०७६ असार २९ गते

आठ ओटा वडा रहेको दुधपोखरी गाउँपालिकाका वडाहरूमा एक जना सचिवले काम गर्नुपर्दा सेवाग्राहीलाई सेवा पाउनमा ढिलाई भएको छ । दुई महिनादेखि गाउँपालिकामा सचिव नभएपछि सेवाग्राहीले समयमा सेवा पाउन नसकेका हुन् ।

आठ ओटा वडामा एकजना सचिवले मात्र काम गर्दै आएको गाउँपालिकाकी अध्यक्ष छुपीमाया गुरुङले बताइन् ।

कर्मचारीको समायोजनको प्रक्रियाका कारण कर्मचारीले दुधपोखरीमा बसी काम गर्न नखोजेकोले समस्या परेको अध्यक्ष गुरुङको भनाई छ ।

अहिले गाउँपालिकामा अछाम घर भएका खम्बाबहादुर बोगटीले आठ ओटै वडाको काम गनुपर्ने बाध्यता भएको गुरुङले बताइन् ।

जन्म, मृत्यु र बसाइसराई एवम् नियमित कागजातदेखि दैनिक सिफारिसमा समेत समस्या परेको छ । कर्मचारी समायोजनको नाममा सेवाग्राहीले सेवाबाट प्रभावित हुन नहुने उपाध्यक्ष कमलप्रसाद धितालले बताए ।

प्रदेश सरकार र सङ्घीय सरकारसँग कर्मचारीको विषयमा छलफल भइरहेको धितालले उल्लेख गरे । आठ ओटै वडा अहिले सचिवविहीन छ ।

खम्वाबहादुर बोगटीले गाउँपालिकाको कार्यलयमानै बसेर सेवाग्राहीको काम गर्दै आइरहेको दुधपोखरी गाउँपालिका–२ का रामहरि दवाडीले बताए ।

घरदेखि ६ घण्टा पैदल यात्रा गरेर मात्र गाउँपालिकाको कार्यलय आउनुपर्ने बाध्यताले सेवाग्राही थप मर्कामा परेका छन् ।

अहिले योजनाको कामले गर्दा धेरै योजनाहरू पूरा नहुने अवस्थामा रहेको दवाडीले बताए । दुधपोखरी गाउँपालिका–१ बाट पनि गाउँपालिका कार्यलय जानको लागि ६ घण्टा लाग्ने हुनाले नियमित सेवाको लागि असहज भएको स्थानीयबासी कुमारी गुरुङले गुनासो गरिन् ।

कर्मचारीको समायोजनमा कर्मचारीले गाउँपालिका नरोजेपनि करारमै कर्मचारी भर्ना गरेर भएपनि सेवाग्राहीलाई काममा सहजता बनाउने गाउँपालिका अध्यक्ष गुरुङले बताएकी छन् ।


दलबहादुर मजाकोटी