गाउँघर क्लिनिक सञ्चालनमा समस्या

  २०७६ पुस २५ गते

सिन्धुली जिल्लाको गोलञ्जोर–५ रतनचुरामा गाउँघर क्लिनिक पिपलको बोट मुनी सञ्चालन हुदै आएको छ । जुन नियमित पनि सञ्चालन हुदैन ।

क्लिनिक सञ्चालन हुदा पनि औषधि राख्ने, बिरामी जाँच्ने, बिरामी सुताउनेलगायतका सुविधाहरु छैनन् । खुला चौरमा, घाम तथा धुलोको प्रवाह नगरी क्लिनिक चलिरहेको हुन्छ । जिल्ला सदरमुकाम क्षेत्रमा रहेको कमलामाई–५ को सिलामे र कमलामाई–७ को रामपुरमा सञ्चालन हुने गाउँघर क्लिनिकमा मुस्किलले १५ देखि २५ जनाले स्वास्थ्य सेवा लिन्छन् । गाउँघर क्लिनिकमा आफूहरुको विश्वास नरहेको स्थानीय सुस्पा भुजेलले बताउनुभयो “गाउँघर क्लिनिकको अवस्था साह्रै नाजुक छ,सेवाप्रति पनि विश्वास नै लाग्दैन” भुजेलले भन्नुभयो । सिलामेमा चौतारामा क्लिनिक चल्छ भने रामपुरमा विद्यालयमा क्लिनिक चल्छ । यहाँका अधिकांश गर्भवती महिला, खोप लगाउने बालबालिका र परिवार नियोजनको सेवा लिनेहरू जिल्ला स्वास्थ्य कार्यालय सिन्धुली मै धाउने गरेको सिद्धेश्वर स्वास्थ्य चौकीका प्रमुख रविन्द्र श्रेष्ठले बताउनुभयो ।

सिद्धेश्वर स्वास्थ्य चौकी अन्तर्गतका खोप तथा स्वास्थ्य जाँचहरू स्वास्थ्य कार्यालयबाटै दिईने गरेको छ ।

स्वास्थ्य कार्यालय सिन्धुलीले जिल्लाभर एकसय ९५ गाउँघर क्लिनिक सञ्चालन गर्छ । सिद्धेश्वर स्वास्थ्य चौकीका इन्चार्ज तथा गाउँघर क्लिनिकका फोकल पर्सन समेत रहेका सिनियर अहेव रविन्द्र श्रेष्ठले गाउँघर क्लिनिकले सेवाग्राहीको मन जित्न नसकेको स्वीकार गर्नुभयो । स्वास्थ्य संस्था र गाउँघर क्लिनिकमा सेवा दिने स्वास्थ्यकर्मी उही हुन् तर क्लिनिकहरू खुला चौतारामा चल्छन, औषधि भण्डारण गर्ने ठाउँ छैन, गर्भवति वा अन्य बिरामी जाँचमा समस्या भएकोले सेवाग्राहीहरू कम आउने गरेको हुनसक्ने श्रेष्ठले बताउनुभयो । ‘खोपका लागि त खुला ठाउँ उपयुक्त नै हुदैन’ उहाँले भन्नुभयो ।

गाउँघर क्लिनिक सञ्चालन गर्ने र स्वास्थ्य चौकी सञ्चालन गर्ने व्यक्ति एउटै भएका कारण पनि क्लिनिक सञ्चालनमा समस्या भईरहेको छ । “स्वास्थ्य संस्थामा नै कर्मचारीको कमी छ अनि क्लिनिक कसरी चलाउनु” श्रेष्ठले भन्नुभयो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा ९८ प्रतिशत क्लिनिकहरू व्यवस्थित रुपमा सञ्चालन हुन सकेका छैनन् ।


बिमला पाण्डे