गर्भवती महिला ६ महिनादेखि दाम्लोमा

  ०७३ साउन २६ गते 

त्रियुगा नपा-५ भातिखर्ककी २२ वर्षीया सृजना कार्की (खड्का) उपचार अभावमा ६ महिनादेखि दाम्लोमा बाँधिएर बस्न बाध्य भएकी छन् ।

मानसिक रोग लागेकी खड्का ८ महिनाको गर्भ लिएर दाम्लोमा बाँधिएकी हुन् । गर्भवती भएको दुई महिनामा पति बेपत्ता भएको र माइती पक्षलेसमेत चासो नदिएपछि उनी बिचल्लीमा परेकी हुन् ।

Photo20160810Udaypur

पतिले छाडेपछि बृद्ध सासू ससुराले बिरामी बुहारीको हेरविचार गरिरहेका छन् । ससुरा भिमबहादुर खड्काले भने-'छोरा कहाँ गयो ? अत्तोपत्तो छैन । बिरामी बुहारीको हामी बुढाबुढीले कसरी स्याहार गरौं ?'

सिन्धुलीको लदाभिर गाविसबाट ०७० फागुनमा विवाह भई भातिखर्क आएकी खड्काको माइती पक्षले समेत कुनै चासो दिएका छैनन् ।

छोरी बिरामी भएको जानकारी गराउँदासमेत माइती पक्ष हेर्न र बिरामीको बारेमा बुझ्न नआएको भिमबहादुरले जानकारी दिए ।

उनले भने-'बुहारी बिरामी भएको यत्रो दिन भयो । जन्म दिने बाबुआमा त भेट गर्न आउनु पर्ने हो ।  उनीहरू पनि आएका छैनन ।'

०७१ जेठमा ललितपुरको मानसिक अस्पताल लगेर चेकजाँच गराएको भिमबहादुरले बताए । उनले भने-'चिकित्सकको नियमित निगरानीमा औषधि सेवन गर्नु भनेको थियो । तर, आर्थिक अभाव भएकाले पुनः उता (अस्पताल) लान सकिएन ।'

गर्भवती महिला त्यसमा पनि गोडामा ठूलो चोट लाग्दा उपचारमा समस्या भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विष्णुबहादुर बस्नेतले बताए ।

उनको गोडाको घाउ जटिल बन्दै गएको छ । आर्थिक अभावकै कारण उपचारमा समस्या भएको ससुरा खड्काको भनाइ छ । गर्भवतीको अवस्था जटिल बन्दै गएपछि स्थानीय सङ्घसंस्थाको सहयोगमा उनलाई उपचारका लागि साउन २६ गते जिल्ला अस्पताल ल्याइएको छ ।


भरत खड्का