गर्भवती महिलाको हत्या घटनाका आरोपित सासू र ससुरा गिरफ्तार

  ०७६ साउन २२ गते

अग्नीसाइर कृष्णसवरण गाउँपालिका-३ की १९ वर्षीया गर्भवती रञ्जुदेवी यादवको हत्या आरोपमा ४५ वर्षीया सासू लीलादेवी यादव र ५५ वर्षीय ससुरा महेन्द्र यादवलाई प्रहरीले साउन २१ गते गिरफ्तार गरेको छ ।

पीडितका पति दिनेश यादव बजार गएका बेला साउन ५ गते राति ८ः३० बजे आरोपितहरूले घाँटी थिचेर हत्या गरेको आरोपमा साउन २१ गते गिरफ्तार गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए ।

इन्स्पेक्टर सन्तोष खड्काका अनुसार शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन ७ गते गरिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको र घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा साउन ८ गते उजुरी दिएका थिए । तीन महिनाकी गर्भवती रहेकी पीडितको १० महिनाको छोरी छिन् ।


मनोहरकुमार पोखरेल