गरिमा धान पीडित किसानद्धारा क्षतिपूर्ति माग

  ०७६ माघ २९ गते

सरकारले सिफारिस गरेको ‘गरिमा’ जातको धान लगाएका आम्दानी नभएपछि पीडित भएका किसानहरुले क्षतिपूर्ति माग गरेका छन् ।

सरकारले क्षतिपूर्ति दिने भने पनि गरिमा पीडित किसानहरुले अझै पनि क्षतिपूर्ति नपाएको किसान हरि न्यौपानेले बताउनु भयो । १५ रोपनी खेतमा १५ पाथी धान पनि नफलेपछि क्षतिपूर्तिको माग गर्दै कृषि ज्ञान केन्द्रमा निवेदन दिएको तीन महिना हुन लाग्यो केही जानकारी नआएको विदुर नपा ५ पिपलटारका किसान हरि न्यौपानेले बताउनु भयो । ‘सरकारले राहत दिने भनेको समाचारमा पढेको हो । तर, खे आएन’ उहाँले भन्नुभयो ।

उन्नत जातको भनेर सबै खेतमा गरिमा जातको धान लगाएकोमा भुसमात्र फलेपछि चामल बेसाएर खाइरहेको तारकेश्वर गापा–४ का किसान विष्णु पुडासैनीले बताउनु भयो । जिल्लामा विदुर र बेलकोटगढी नगरपालिका तथा तारकेश्वर, शिवपुरी, पञ्चकन्या, लिखु,सूर्यगढी र ककनी गाउँपालकाबाट गरिमा धान पीडित किसानहरुले राहत तथा क्षतिपूर्ति माग गर्दै कृषि ज्ञान केन्द्र नुवाकोटमा निवेदन दर्ता गराएको कृषि ज्ञान केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले बताउनु भयो । १२ स्थानीय तह रहेको जिल्लामा ८ वटा स्थानीय तहका २ सय जना किसानको ९ सय ९ रोपनी खेतमा लगाएको धानमा भुसमात्र फलेको उहाँले बताउनुभयो । क्षतिपूर्तिको माग गर्दै कृषि ज्ञान केन्द्रमा गएको कात्तिकमा नै निवेदन दिए पनि क्षतिपूर्ति दिने प्रक्रिया अझै शुरु नभएपछि झनै पीडा भएको किसान पुडासैनीले बताउनु भयो ।

कार्यालयमा प्राप्त भएको निवेदनको विवरण विउ विजन गुणस्तर नियन्त्रण केन्द्र हरिहरि भवनमा पठाइएको केन्द्र प्रमुख दवाडीले बताउनुभयो । त्यहाँबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पठाइएको र त्यहाँबाट उद्योग मन्त्रालयमा पुगेको भन्ने जानकारी आएको छ’ प्रमुख दवाडीले भन्नुभयो  ।

तराईमा सिफारिस गरिएको धान भए पनि नुवाकोटको टार र बेसीको हावापानी तराईको जस्तै नै हुने भएकोले विगतमा किसानहरुले यस्ता धान लगाउने गरेकोमा यो वर्ष भने किसानहरु पीडित भएको कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत रुकमिणी अधिकारीले बताउनु भयो । किसानलाई राहत दिँदा उत्पादनको आधारमा दिने कि लागतको आधारमा दिने भन्ने निक्र्यौल हुन नसक्दा ढिलाई भइरहेको अनौपचारिक जानकारी आएको ज्ञान केन्द्रले जनाएको छ । खाद्य सुरक्षा र अधिकारको कुरा गर्ने सरकारले खाद्यान्न उत्पादन गर्ने किसान नै पीडित हुँदा उचित राहतको व्यवस्था गर्न ढिलाई गर्न नहुने नुवाकोट जिल्ला बार इकाईका सचिव उत्तम घिमिरले बताउनु भयो ।


नवदीप श्रेष्ठ