गरिबी र अन्धविश्वासबाट भएको अपाङ्गताको पीडा

  ०७६ फागुन १४ गते

कमलामाई नगरपालिका–१४ का सुवास श्रेष्ठ १७ वर्ष हुनुभयो । उहाँलाई कक्षा–६ मा पढ्दा पढ्दै कम्मर दुख्ने समस्या भयो । क्रमशः उक्त समस्याले दाहिने खुट्टा नै सुक्यो । विस्तारै हिडडुल गर्न नसक्ने हुनुभयो । सोहि समस्याका कारण स्थानीय सरकारी विद्यालय चन्दनपुर माविमा पढीरहनुभएका उहाँले पढाई छोड्नुभयो । हाल बैसाखीका भरमा घर भित्र बाहिर गर्नुहुन्छ । टाढा जान सक्नुहुन्न । पछिल्लो केहि समयदेखि उहाँको बायाँ गोडामा पनि दुख्ने समस्या हुन थालेको छ ।

Photo20200226Sindhuli1

उहाँको पारिवारिक कथा पनि पीडदायी छ । उहाँकी आमाले उहाँ र उहाँका तीन जना बहिनीहरू छोडेर अर्को विवाह गर्नुभयो । सुवासका बुबा सोमप्रसाद श्रेष्ठ भारतमा मजदुरी गर्नुहुन्छ । उहाँ र उहाँका बहिनीहरू माइला बुवा सन्तबहादुर र माइली ठूलीआमा डम्बरकुमारीसँग बस्नुहुन्छ । यो परिवारलाई पनि करिब नौ महिना मात्र खान पुग्छ । दुखजिलो गरेर आफ्ना दुई छोराछोरी सहित देवरका चार छोराछोरी श्रेष्ठ दम्पतिले हुर्काईरहेका छन् ।

सुवासको रेखदेख ठूलीआमाको जिम्मामा छ । खेतिपाती गर्ने, बालबालिकालाई पढाउने, पाल्ने मात्र नभै थप हिडडुल गर्न नसक्ने सुवासको स्याहार सुसारको थप जिम्मेवारी पनि उहाँको काँधमा छ । उहाँको उपचार भारतको पटना र नयाँ दिल्लीमा उपचार भयो । तर निको भएन । उहाँको परिवारले आर्थिक अभावकै कारण उहाँको उपचार गर्न सकेन । पढाई पनि रोकियो । सुवास भन्नुहुन्छ ‘सक्यो भने त पढ्थें । पढ्न मन त लाग्छ के गर्नु, रोगकै कारण अपाङ्गता भएर बस्दा पढाई रोकिएकोमा उहाँलाई चिन्ता छ ।

सिन्धुली अस्पतालका हाजोर्नी विशेषज्ञ डा. सुधांश झाका अनुसार यस्तो समस्या बालबालिका अर्थात् १५ देखि २० वर्ष उमेरका व्यक्त्तिमा  देखिन्छ । उनीहरूलाई देखिने यो समस्या सानो उमेरमा देखिने बाथ रोग हो । यसले हाडजोर्नी समाउँने र यसको कुनै औषधि नहुने उहाँले बताउनु भयाे । उहाँका अनुसार नशा तथा हाडजोर्नीलाई चलाएमान राख्नु नै यसको निराकरण हो । ‘सुवासले एक्सरसाईज नगर्दा कम्मरको चिप्लो पदार्थ नै जाम भईसकेको हुनसक्ने उहाँले बताउनु भयो । ‘यो रोग लाग्दा मान्छे विस्तारै जोर्नीहरूको चिप्लो पदार्थ सुक्दै जान्छ र मान्छे बाँस जस्तो हुन्छ’ उहाँले भन्नुभयो ।

कमलामाई नगरपालिका–१४ तल्लो रानीबासका उद्धवप्रसाद पहाडी उमेरले २८ वर्ष हुनुभयो । उहाँको दाहिने गोडामा रड देखिन्छ । गोडैभरी पिप निस्केको घाउ देखिन्छ । उहाँको सात वर्ष अघि भारतको पटनामा सडक पार गर्ने क्रममा ट्याक्सीले हानेर गोडा भाँचिएको थियो । सोहि घाउको रड ननिकाल्दा उहाँ अपाङ्गता जस्तै हुनु भएको छ । सामान्य हिडडुल गर्छु, काम गर्न सक्दिन’उहाँले भन्नुभयो । उहाँले उपचार गर्ने नै कोहि नभएको कारण समस्या भएको बताउनु भयो । सुरुमा भारतको पटनामै उपचार गरार्ई रड राखिएको भए पनि पैसाको अभावले रड निकाल्न नसकेको उहाँले बताउनु भयो । त्यतिबेलाको अस्पतालमा उपचार गरेका कागजपत्र पनि नलिई उद्धव घर आउनु भयाे । पटनाको एमसिएच अस्पतालले दुई वर्षमा रड निकाल्नुपर्ने सुझाव भएपनी अझै रड शरीरमै रहेकाे उहाँले बताउनु भयाे ।

उद्धवका बुबा कृष्णप्रसाद पहाडीका अनुसार सोहि दुर्घटनापछि छोरामा एकोहोरो हुने, नबोल्ने, लुगा भाँडा फाल्ने, घाउ कोट्याउने चलाउने जस्ता अस्वभाविक समस्या देखिन थालेको छ । ‘कमाउने छोरो दुर्घटनामा घाइते भयो,मजदुरी गर्‍यो दुईचार पैसा खानै ठिक्क, थप उपचार गर्न सकिन’ उद्धवले भन्नुभयो । त्यसपछि उद्धवलाई हालसम्म जँचाउन अस्पताल लगिएको छैन । उहाँहरुको ऐलानी जग्गामा झुप्रो घर छ । त्यो बाहेक विहान बेलुका ज्यालादारीमै जीवन धान्ने गर्नु परेको उहाँले बताउनु भयो । ‘पैसा नभएपछि कसरी उपचार गर्नु, छोरो अपाङ्ग भयो’ कृष्णप्रसादले भन्नुभयो ।

लापर्वाहीले गोडा काटियो

कमलामाई नगरपालिका–१४ चन्दनपुरका ४८ वर्षीय दिपबहादुर पुलामीले कृतिम खुट्टा हालेको १९ वर्ष भयो । ब्लेडले नङ काट्ने बेला बाँया गोडाको बुढी औंलाको नङको जरामा ब्लेडले काटेर सानो घाउ थियो । सोहि घाउ केहि दिनमा चिलाउन थाल्यो । बोक्सीको आँखा लागेको भन्दै झारफुक गर्न धामीझाँक्री तिर लाग्नुभयो ।गोडाको घाउ बढ्दै गएपछि उपचारका लागि वीर अस्पताल पुगियो । एक महिनापछि वीरअस्पताल पुगेका पुलामीको टिट्नाश भएको भन्दै डाक्टरले घुँडा मुनी काटेर फालिदिए । अहिले उहाँ परिवारको साहारामा हुनुहुन्छ । गह्रौं काम गर्न सक्नुहुन्न,उनीहरूको जग्गा जमिन छैन, ऐलानीमा घर छ । दुई छोरा र दई छोरीको जिम्मेवारी पुलामीकी पत्निको काँधमा छ । चटपटे बेचेर, मजदुरी गरेर छोराछोरी पढाउने, हुर्काउने, लाउने खाने जोहो पत्निले एक्लैले गर्दै आएको पुलामीले बताउनु भयाे । उहाँका छोराछोरी  चन्दनपुर माविको कक्षा ९, १०, ११ र १२ कक्षामा पढ्दै गरेको पुलामीले बताउनु भयाे  ।

न पहिचान, न पति

कमलामाई नगरपालिका–१४ खिरखिरेकी ४५ वर्षीया भुन्टी धामी पाँच वर्षदेखि विरामी हुनुहुन्छ । सुरूमा उहाँको हातखुट्टा नचल्ने हुँदै कम्मरमा समस्या देखियाे । विस्तारै दाहिने पाटो नै चल्न छोड्यो । अहिले हात खुट्टा सुक्ने थालेको छ । जसका कारण उहाँ थला पर्नुभयो । सामान्य उपचार त गर्‍यो परिवारले । तर निको भएन । पति डोको धामीले भुन्टी निको हुने छाँटकाँट नपाएपछि अर्की विवाह गरेकाे भुन्टीले बताउनु भयाे । उहाँलाई विरामीसँगै सौताको पिरलो थपियो ।

भुन्टीका एक छोरा र एकछोरी छन् । छोरी सिर्जनाले त स्कुल नै टेक्नै पाउनु भएन, छोरालाई केहि दिन नजिकैको स्कुलमा पठाए पनि पढ्न छोडे । दुवै छोराछोरीको जन्मदर्ता र आप्नाे नागरिकता नभएको भुन्टीले बताउनु भयो ।

‘ऐलानी जग्गामा फुसको घर छ, मजदुरी गरेर परिवार पाल्नुपर्ने बाध्यता छ, उपचार गर्न पनि आर्थिक अभावले गाह्रो छ’ भुन्टीका देवर विन्दास धामीले भन्नुभयो । अपाङ्गता परिचय पत्र वितरणका लागि गएको कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा सहितको टोलीले उहाँलाई नागरिकता र जन्मदर्ता नै नभएका कारण घरमै पुगेर पनि अपाङ्गता परिचय पत्र दिन नसकेको बताउनु भयो ।

उपचार गर्न नसक्दा अपाङ्गता

कमलामाई नगरपालिका–१४ का कन्ना धामीका ७० वर्षीय स्थानीय समाजसेवी हुन । उहाँ दुईवर्ष अघि खेत जोत्दै गर्दा कम्मरमा समस्या आएपछि विरामी पर्नुभयो । जनकपुर अञ्चल अस्पताल पुग्नुभयो उपचारका लागि । तर उहाँका लागि न त एक महिना अस्पतालमा बस्ने कुरुवा कोहि भए, न उपचारका लागि पैसा । डाक्टरले कम्मरको जोर्नी खुस्केको भन्दै स्टिल हाल्नुपर्ने सुझाव दिए । उपचार सम्भव नभएपछि उहाँ पनि थला पर्नुभयो । दाहिने खुट्टा विस्तारै सुक्दै गए, शौचालयसम्म जान सहयोगी चाहियो । उहाँ थला लागेपछि विरामी पत्नी र जेठो छोरो पनि मृत्यु भयो । उहाँलाई अहिले बुहारी तारावतीले स्याहार गर्दै आउनु भएको छ । ख वर्गको अपाङ्गता परिचय पत्र साथमा छ ।

Photo20200226 Sindhuli

कमलामाई नगरपालिकाले माघ २५ गतेदेखि अपाङ्गता भएका व्यक्तिलाई घर दैलोमा परिचय पत्र दिने शिविर सुरु गर्‍यो । वडा–१, २, १२ र १३ मा नगरपालिकाले अपाङ्गता परिचय पत्र वितरण गरिसकेको छ । कमलामाई नगरपालिकाका भित्र रहेका अपाङ्गहरूको पहिचान गर्ने र कार्ययोजना बनाउने नगरपालिकाको योजना रहेको उपमेयर मञ्जु देवकोटाले बताउनु भयो । योजना अनुरुप फागुन ९ गते उपमेयर देवकोटाको नेतृत्वको टोली कमलामाई नगरपालिका–१३ र १४ मा आयोजित अपाङ्गता शिविरमा भइसकेको छ ।

शिविरबाट सम्पर्कमा आएकाहरु मध्ये वडा–१४ मा मत्रै एकै दिन २८ जनाले अपाङ्गता परिचय पत्र बनाएको देवकोटाले बताउनु भयो । उहाँका अनुसार परिचय पत्र बनाएकाहरु मध्ये ७० प्रतिशत दुर्घटनापछिको चोटपटक लागेका र अप्रेशन विग्रेका बिरामीहरू पाईएको सिन्धुली अस्पतालका डा. सुधांशु झाले बताउनुभयो । उहाँका अनुसार शिविरमा लालगढ अस्पतालमा उपचार गराएर शल्यक्रिया विग्रेका र भारतको पटनामा उपचार  गराएर उपचार विग्रेपछि अपाङ्गता भएका व्यक्तिहरू धेरै पाइएको उहाँले बताउनु भयो । हालसम्म शिविर र नियमित रुपमा कार्यालयबाट २ सय १० जना अपाङ्गलाई परिचय पत्र दिईएको नगरपालिकाले जनाएको छ ।


बिमला पाण्डे