गरिबीले नवजात शिशु जचाउन जान नसकेको गुनासो

  ०७६ फागुन २९ गते

गरिबीका कारण जन्मजात समस्या देखिएको नवजात शिशुको स्वास्थ्य परीक्षण गर्न नसकेको पीडितले गुनासो गर्नु भएको छ ।

दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तले फोटोको आधारमा ‘कञ्जेनाइटल डिफेक्ट’ को भन्नुभएको छ । टाउकोको पछिल्तिर दुई वटा टाउको जत्रै ‘कञ्जेनाइटल’ भाग झुण्डिएको र हेर्न आउनेको भिड गर्ने गरेकाले जन्म दिने आमा र परिवारजनले झनै खिन्नता महशुस गर्नु भएको छ ।

भगवतीमाई गाउँपालिका–४ मन्घरकी २१ वर्षीया लक्ष्मी बिकले फागुन २७ गते विहान ११ बजेतिर पहिलो सन्तानको रुपमा घरमा छोरीलाई जन्म दिनुभएको हो । लक्ष्मीका पति २२ वर्षीय गोपाल बिक एक महिना अघि मात्र रोजगारीका लागि दुबई पुग्नुभएको छ ।

वैदेशिक रोजगारीका लागि राहदानी निकाल्न, अन्तरवार्ता, मेडिकल गर्न र दुबई उडान समेत पटक पटक काठमाण्डौं आउजाउ गर्न २ लाख रुपियाँ भन्दा बढी ऋण लागेको यसै बेला नवजात शिशुको उपचार गर्न ऋण खोज्दा नपाएको लक्ष्मीकी सासु रत्ना कामीले सुनाउनुभयो ।

लक्ष्मीको घरमा उहाँकी दुई अमाजु, तीन नन्दहरू र सासु–ससुरा समेत नौ जनाको परिवार ससुरा डिलबहादुर कामीको दैनिक मजदूरीले जेनतेन खर्च धानिएको छ ।

नेपालगञ्ज वा काठमाण्डौंमा न्यूरो सर्जन कहाँ पु¥याए मात्र उपचार हुने वा नहुने निश्चित गर्न सकिने सल्लाह पाइएको तर परिवारजनले ऋण खोजेर समेत नपाएको कारण उपचार प्रक्रियाको काम सुरु नभएको छिमेकी मिलन बिकले बताउनुभयो ।

जगनाथ स्वास्थ्य चौकीमा गर्भवती भएदेखि ४ पटक नियमित रुपमा जचाएको तर फागुन २७ गते अकस्मात व्यथा लागेर तुरुन्तै बच्चा जन्मिएको कारण घरमै सुत्केरी गराइएको परिवारजन बताएका छन् ।
नवजात शिशुको स्वास्थ्य अवस्था ठिक भएपनि आफूलाई तारन्तार पखाला लागेर हैरान भएको लक्ष्मीले बताउनुभयो ।

Photo20200312Dailekh


अमर सुनार