गरिबीका कारण आगोले जलेकी रञ्जु उपचार अभावमा

  ०७६ चैत ८ गते

बोदे बर्साइन नपा१०, खडगपुर दक्षिणबरिया टोलकी २५ वर्षीया रञ्जुदेबी यादवको उपचार गरिबीका कारण हुन नसकी साढे एक महिनादेखि घरकै ओछ्यानमा थला परेकी छिन् ।

photo20200322saptari (1)

माघ २६ गते घुरको आगोले शीरदेखि पाउसम्म जलेकी रञ्जुको खर्च अभावमा उपचार गर्न नसकी घरमै राख्न बाध्य भएको उहाँका पति बबलेश यादवले बताउनु भयो ।

बिराटनगरस्थित म्याक्स इन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि.ले एक दिनमा ड्रेसिङ्ग चार्ज २० हजारसहित उपचार खर्च ३६ हजार रुपियाँको बिल तिर्न लगाए पछि खर्च सकिएर बबलेश घाइते बिरामी लिई घर फर्किनु भएको हो । भारतको दिल्लीबाट मजदुरी गरी बबलेशले ल्याएको ६ हजार, उहाँका बुवा लगन यादवले आफ्ना मालिक अजय यादवसँग सापटी लिएको १५ हजार र घाइतेकी आमा कौशिल्याले ऋणकर्जा गरेर ल्याएको २५ हजार रुपियाँ एक दिनमै अस्पताल, औषधी र एम्बुलेन्समा सकिएको थाहा पाएपछि अस्पतालले उपचार नगरी पठाएको बबलेशले बताए ।

photo20200322saptari (3)

म्याक्स अस्पताललाई ३६ हजार रुपियाँ बुझाएको रसिद देखाउँदै बबलेशले भने– ‘अस्पतालले ३६ हजार बुझेपछि थप पैसा नभए उपचार पनि नहुने भन्दै अस्पतालबाट लैजान जोड दिएपछि माघ २७ गते राती नै घर फर्किए ।सरकारी अस्पतालमा निशुल्क उपचार हुने सुनेर एक महिनापछि फागुन २५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल आउनु भएकी घाइतेको उपचारमा लाग्ने औषधि किन्न नसकेर र उपचारमा अस्पतालले ध्यान नदिएपछि पुनः घर नै फर्किएको घाइतेकी आमा कौशल्याले बताउनु भयो ।

नेपालको संविधानले स्वास्थ्य सम्बन्धी हकलाई मौलिक हकको रुपमा राख्दै धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख छ । रञ्जु भने गरिबीका कारण औषधी उपचारको अभावमा साढे एक महिनादेखि उपचारविहनि भएर घरमै हुनुहुन्छ । घाइतेकी आमा कौशिल्याले बताउनु भयो–‘ऋणकर्जा लिएको पैसा पनि सकियो, औषधी सकिए पछि थप उपचार गर्न नसकेर माइतमै राख्नु परेको छ ।

photo20200322saptari (2)

आर्थिक अभावका कारण औषधि उपचार गर्न नसक्ने भएर बिरामीको परिवार घाइतेलाई घरमै राख्न वाध्य छन् । उहाँको जलेको विभत्स शरीर कमजोर मुटु भएकालाई हेर्न गाह्रो छ । उपचारको अभावमा औंलाहरु कुहिएर झर्लाजस्तो छ । उपचारमा संलग्न अस्पतालका हेल्थ असिस्टेन्टसन्तोष मेहताले रञ्जुको शरिरका अङ्गहरु कुहिएर गन्हाउन थालेको जानकारी दिनुभयो । अशक्तताले बोल्न र हर फर्काउन नसक्ने रञ्जु उपचार खर्च अभावमा घुरले जलेको विभत्स शरीर बोकेर घरमै दिन बिताइ रहनु भएको छ ।

रञ्जुको सासुको मृत्यु भइसकेको छ । ससुरा लगन गाउँकै एक जमिन्दारको घरमा मजदुरी गर्नु हुन्छ । ठेकेदारमार्फत भारतको दिल्ली पुगेका पति एक फर्निचर पसलमा ज्यालादारी मजदुरी गर्नु हुन्छ । रञ्जु एक वर्षीया छोरीसँग घरमा बस्दै आउनु भएको थियो । जाडो लागेर माघ २६ गते बिहान घुर बालेर आगो ताप्दै गरेका बेला निदाएकी रञ्जुको साडीमा आगा लागेर गम्भिर घाइते हुनु भएकी थियो । घाइते रञ्जुदेवी भन्नु हुन्छ–‘स्थानिय सरकार गाउँमै छ तर गरिबको हाल खबर बुझ्ने कोही छैन ।


मनोहरकुमार पोखरेल