गण्डकी प्रदेश सभा सांसद गुरुङ गिरफ्तार

  ०७६ माघ ९ गते

गण्डकी प्रदेश सभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेपछि लेकसाइड पुग्नुभएका गुरुङलाई पोखरा महानगरपालिका वडा नं ६ लेकसाइड स्थित होटल प्याराडाइजबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।

डिएसपी केसीले गुरुङको गिरफ्तारी पश्चात आवश्यक कानुनी प्रक्रिया अगाडी बढाइएको जानकारी दिनभयो ।

०७६ माघ ७ गते पोखरा मनपा–२९ भण्डारढिकमा ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटन कार्यक्रममा आफुलाई हातपात गरेको भन्दै पोखरा मनपा–११ बस्ने एन्फा कास्की अध्यक्ष मिलन गुरुङले सांसद गुरुङ विरुद्ध माघ ८ गते जिल्ला प्रहरी कार्यलय कास्कीमा जाहेरी दिनुभएको थियो ।

जाहेरीमा गुरुङले मुलुकी फौजदारी संहिता २०७४ को दफा ११८ विपरीतको कसुर हुँदा निजलाई ठाडै पक्राउ गरी प्रचलित कानुन अनुसार हदैसम्मको सजाय गरी पाउँ भनिएको थियो ।

जिल्ला प्रशासन कार्यलय कास्कीले सांसद गुरुङ विरुद्ध माघ ९ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

यसअघि सांसद गुरुङले माघ ८ गते पत्रकार सम्मेलन गरि आफुले झापड हानेको स्विकारोक्ती दिनुभएको थियो ।

photo20200123kaski1

photo20200123kaski2

 


सुशन घिमिरे