गण्डकी प्रदेश अवस्था : थप एकजना कोरोना भाइरस संक्रमित

  ०७६ चैत २० गते

गण्डकी प्रदेशमा आज एकजनाको कोभिड—१९ परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकजनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुगेको हो ।

बागलङु जिल्ला प्रतिनिधि सृजना पन्तले बागलुङ जिल्लामा ६५ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिनुभएको छ । नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट क्यूआर ६५२ को फ्लाइटमा आएकी हुन । उनी बेल्जियममा रहेका आफ्ना कान्छी छोरी भेटेर दुई सातामा नेपाल फर्किएकी थिइन् । नेपाल फर्के पश्चात उनी आफ्नै घरमा क्वारेन्टाइनमा बसेकी थिइन । नयाँ संक्रमण देखिएका महिलालाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेले जिल्लामा विदेशबाट फर्केका आठ सय सात जना मध्ये ६५ जना अहिले विभिन्न स्थानमा बनाइएको क्वारेन्टाइन होममा रहेका छन् । भने एक जना घर फर्किएकोे बताउनुभएको छ ।

८ वटा स्थानीय तह रहेको जिल्लामा स्थानीय तहको तथ्यांक अनुसार अहिले सम्म विदेशबाट आएका आठ सय सात जना नेपाली रहेकोमा ६६ जना मात्र क्वारेन्टाइनमा बसेको छन् । जिल्लाको क्वारेनटाइन होममा बेड संख्या ७ सय ४९ वटा छ तथापि विदेशबाट आएका अधिकांश गाउँघरमै रहेका छन् ।

जिल्लामा सबैभन्दा बढी देवचुली नगरपालिकामा ४ सय बेडको क्वारेन्टाइन होम तयार भएको छ । त्यसैगरी कावासोतीमा एक सय बेड, गैडाकोटमा ३६, मध्यविन्दु नगरपालिकामा १ सय २६ बेड, बौदीकाली गाउँपालिकामा ६२, हुप्सेकोटमा १३ र विनयी त्रिवेणी गाउँपालिकामा १२ बेडको को क्वारेन्टाइन होम बनेको छ ।

गोरखा जिल्ला प्रतिनिधि हरिराम उप्रेतीका अनुसार भारतबाट फर्किएका तीन युवालाई क्वारेन्टाइनमा राखिएको छ । नेपाल भारत सिमा क्षेत्रको वेलहिया नाकामा अलपत्र परेकाहरुलाई प्रशासनको समन्वयमा उद्घार गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापाले बताउनुभयो । शहिद लखन गाउँपालिका–२ स्थित आरुवोटको बालज्योति प्राथमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको थापाको भनाइ छ ।

शहिद लखन गाउँपालिका भरि ५३ जना विदेशबाट फर्किएकाहरु पनि होम क्वारेन्टाइनमा रहेको थापाले बताउनुभो । कोभिड १९ को आशंकामा गोरखा अस्पतालमा उपचाररत एक महिला र दुई पुरुष गरि तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ । रुघाखोकि र ज्वरोका बिरामी रहेको उनीहरु गत आइतबार गोरखा अस्पतालमा उपचारका लागी भर्ना भएका थिए । स्याबको नमुना परीक्षणको रिपोर्ट चैत २० गते प्राप्त भएको र सबैको नेगेटिभ आएको गोरखा अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताउनुभयो । रिपोर्ट नेगेटिभ आएपछि दुई बिरामीलाई वार्डमा सारेर उपचार गरिएको छ ।

यसअघि पनि गोरखा अस्पतालमा उपचाररत एक १० वर्षीय बालिकाको स्वाब परीक्षण भएको थियो । उनको पनि रिपोर्ट नेगेटिभ आइसकेको अस्पतालले जनाएको छ ।

कोरोना (कोभिड–१९) को संभावित संक्रमण रोकथामका लागि सिरानचोक गाउँपालिकाले प्रत्येक टोलमा ‘कोरोना प्रतिकार्य समूह’ गठन गरेको छ । कोरोनाबारे सचेतना जगाउँन गाउ“मा माइकिङ् गर्ने, लकडाउन हुनुपुर्व विदेशबाट आएकाहरुको लगत संकलन तथा होम क्वारेन्टाइनमा बसे नबसेको अनुगमन, जुवातास नियन्त्रण गर्ने लगायतका कार्यमा समूह सक्रिय छ ।

गोरखामा एम्बुलेन्समा बेथिति बढेपछि प्रहरीले निगरानी थालेको छ ।। ‘लकडाउनको बेला बिरामीको साटो मान्छे ओसारपसारमा एम्बुलेन्स चालक लागेको छन् भन्ने जनगुनासो आएपछि चैत २० गतेबाट दुई एम्बुलेन्स प्रहरी परिसरमा तयारी अवस्थामा राख्न शुरु गरिएका एसपी ओम अधिकारीले बताउनुभयो ।

कोरोना त्रासका कारण एम्बुलेन्स चालकले ज्वरोका बिरामी नबोक्ने गरेको गुनासो बढेपछि निगरानी थालिएको हो । बिरामी र बिरामीका आफन्तलाई बाहेक अन्य यात्रु ओसार पसार गरेको भेटिए एम्बुलेन्स संचालकलाई कारवाही हुने एसपी अधिकारीले चेतावनी दिनुभएको छ ।

कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेले जिल्लामा लकडाउनको पूर्ण रुपमा कार्यन्वयन भएको जानकारी दिनुभएको छ । आज ३ बजेसम्म हेल्लो डाक्टर १०९२ मा २२ जनाले फोन गरेर परामर्श सेवा लिएका छन् । विगत ८ दिन देखी मालेपाटन पोखराको कृषि तालिम केन्द्र स्थित क्वारेन्टाइनमा बसेका १६ जनाको स्वास्थ्य स्थिती सामान्य रहेको छ ।

कास्कीमा आज २६ स्वाब परीक्षण गरिएको निर्देशनालयका आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति नवराज शर्माले जानकारी दिनुभयो ।

जसमा  २० जनाको नेगेटिभ र ६ जनाको नतिजा आउन बाँकी रहेको शर्माले बताउनुभयो । स्थानिय तहले आफ्ना नाकामा हेल्थ डेक्स स्थापना गरि प्रवेशलाई अनिवार्य स्वास्थ्य परीक्षण गराएका छन् ।

पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाले आज स्वाब परीक्षणका लागि कुनै पनि बिरामी नआएको बताउनुभयो । उहाँले फिबर क्लिनिक पर्वतका ५२ वटै स्वास्थ्य सँस्थामा रहेपनि पर्वत अस्पतालले ज्वरो आएका बिरामीहरुलाई तुरुन्त अस्पतालमा नै सम्पर्क गर्न सर्वसाधारणलाई सूचित गरिएको बताउनुभएको छ ।

पर्वतमा राहात वितरण प्रक्रियालाई एकद्वार प्रणाली अपनाउँनका लागि स्थानीय तहहरु सक्रिय देखिएका छन् । सूचना विभागले जारी गरेको परिचय पत्र नभएका सञ्चारकर्मीहरुका लागि आज जिल्ला प्रशासन कार्यालय पर्वतले एक विज्ञप्ति जारी गरी जिल्ला प्रशासन कार्यालयबाट सम्बन्धित मिडियाको सिफारिसमा पास पाउने व्यवस्था मिलाएको छ ।

म्याग्दी जिल्ला प्रतिनिधि अमृत बास्कुनेले आज एक जनाको स्वाब परीक्षणको लागि गएको बताउनुभएको छ ।

 तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँका १० वटै स्थानीय तहका ८५ वटै वडा तहसम्म कोरोना भाइरस विरुद्धको प्रतिकार्य टोली गठन गरी भारत लगायत अन्य मुलुकबाट विगत दुइ हप्तादेखि यता नेपाल भित्रिएका नागरिकको तथ्याङ्क संकलन, उनिहरुको स्वास्थ्य अवस्थाका विषयमा उच्च निगरानी गर्न थालिएको छ । सबै वडाहरुले प्रतिकार्य टोली (कमान्ड पोष्ट) गठन गरि कोरोना भाइरसको संक्रमण फैलिएका मुलुकबाट नेपाल आएका नागरिकको तथ्यांक संकलन तथा विपन्न वर्गका नागरिकको लगत समेत संकलन गर्न थालिएको छ ।

तनहुँमा संकलन गरिएको पछिल्लो तथ्यांक अनुसार व्यास नगरपालिकामा १ सय ५३, भानु नगरपालिकामा ६२, म्याग्दे गाउँपालिकामा ३१, शुक्लागण्डकी नगरपालिकमा १ सय २४, भिमाद नगरपालिकामा १ सय १२, घिरिङ गाउँपालिकामा ६२, ऋषिङ गाउँपालिकामा ७९, देवघाट गाउँपालिकामा २९ जना, बन्दीपुर गाउँपालिकामा १५ र आँवुखैरेनी गाउँपालिकामा २० जना गरी ६ सय ८७ जना नागरिक भारत, दुबइ, कतार, मलेसिया तथा अन्य युरोपेली मुलुकबाट जिल्लामा भित्रिएको पाइएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनु भयो ।

विदेशबाट फर्किएकाहरुलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेपनि तनहँुमा त्यसको पूर्णरुपमा पालना भने हुन सकेको छैन । तनहुँमा भित्रिएका ६ सय ८७ जना मध्ये व्यास नगरपालिका–५ मा बनाईएको क्वारेन्टाइनमा जम्मा २ जना मात्र बसेका छन् । अन्य नागरिकहरु भने घरमै बसेकाले स्थानीय बासिन्दालाई संक्रमण फैलने त्रास बढेको छ ।

यसैगरि लकडाउनको शुरुवातदेखि नै सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गर्ने विषयमा चरम लापरवाही देखिएको भन्दै व्यास नगरपालिका–३ स्थित तरकारी पसल चैत २० गतेदेखी बन्द गर्ने वडा कार्यालयले निर्णय गरेको छ ।

तरकारी किन्ने बाहानामा उपभोक्ताहरुको भिड बढ्न थालेको र त्यसले कोरोनाको जोखिम बढाउने हुँदा तरकारी बजार समेत बन्द गर्नु परेको वडा सदस्य रविन पौडेलले बताउनु भयो । बजार बन्द गरिएपछि उपभोक्तालाई तरकारी उपलब्ध गराउन जिल्लाभित्रको उत्पादन ट्रकमा राखेर टोल टोलमा र घरघरमा आपूर्ति गरिने व्यवस्था मिलाईएको उहाँले बताउनु भयो ।

लमजुङ जिल्ला प्रतिनिधि दलबहादुर मजाकोटीले आज ४ जनाको स्वाब परीक्षणको लागि पोखरा पठाइएको जानकारी दिनुभएको छ ।

दोर्दी गाउँपालिकाले दोर्दी गाउँपालिका वडा नं ५ स्थित पाचोकमा भुकम्प पुनर्निर्माणको काम गरेका रुकुम घरभएका १९ जना मजदुरहरुको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गरुङले बताउनुभयो । कोरोना भाइरसका कारण दैनिक काम संचालन नभएपछि र लकडाउनका कारण खाद्यान्नको अभाव भएको खबर पाएपछि पालिकाले  उनीहरुको उद्धार गरेको अध्यक्ष गुरुङको भनाइ छ ।

रूकुम जिल्ला आठवीस नपा—१३ का २६ वर्षीय प्रकाश शाहीका अनुसार लकडाउनको बेलामा हामी मजदुरलाई गाउँपालिकाले मानवीय सेवा गरेको बताउनुभयो । पालिकाले ०७६ चैत १९ गते लकडाउन अवधिभर मजदुरलाई आवश्यक चामल, दाल, नुन तेल लगायत दैनिक आवश्यक खानाको व्यवस्थापन गरेको छ ।

 


गण्डकी प्रदेश कार्यालय