गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङलाई पद तथा गोपनीयताको शपथ !

  ०७५ माघ १५ गते

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले माघ १४ गते पद तथा गोपनीयताको शपथ लिएका छन् । मनाङ ‘ख’मा स्वतन्त्र उम्मेदवारी दिएका गुरुङ १ हजार ४ सय १० मत ल्याएर विजयी भएका थिए ।

गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले प्रदेश सभा सदस्यको हैसियतमा गुरुङलाई सपथ ग्रहण गराएका हुन् । निर्वाचन सम्पन्न भई परिणाम आएको १ वर्ष २ महिनापछि उनले प्रदेश सभा सदस्यको सपथ लिएका हुन् ।

प्रदेश सभाको निर्वाचनमा मनाङ ‘ख’बाट निर्वाचित गुरुङलाई ज्यानमार्ने उद्योगमा संलग्न भएको आरोपमामा प्रहरीले ०७५ वैशाख ७ गते गिरफ्तार गरेको थियो । ज्यानमार्ने उद्योगमा पाटन उच्च अदातलबाट गुरुङलाई ०६९ मा ५ वर्ष कैद सुनाइएको थियो ।

मुद्दा पुनरावलोकनका लागि भन्दै सर्वोच्च पुगेका गुरूलाई सो अदालतले पुस ६ गते थुनामुक्त गर्ने आदेश दिएको थियो । थुनामुक्त भएपछि पुस ११ गते गुरुङले प्रदेश सभा सचिवालयमा सपथ ग्रहण गराई पाउँ भन्दै निवेदन दर्ता गराएका थिए ।

गण्डकी प्रदेशका सभामुख अधिकारीको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले गएको पुस २२ गते प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १६ अनुसार मनाङेलाई सपथ खुवाउन नहुने निश्कर्ष निकालेको थियो ।

प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १६ उपदफा १ मा ‘सदस्यको पदमा निर्वाचित कुनै व्यक्ति दफा १३ बमोजिम अयोग्य रहेको अदालतबाट ठहर भएमा निज त्यस्तो पदबाट मुक्त हुनेछ’ उल्लेख छ ।

नयाँ फौजदारी संहिता अनुसार अदालतले १० वर्ष भन्दा कम सजाय फैसला सुनाएको मुद्दामा थुना बाहिर रहेर पनि मुद्दा लड्न पाउने भनी गरेको व्यवस्था अनुसार उनी पुस ६ गते थुनामुक्त भएका थिए ।


सुशन घिमिरे