गण्डकी प्रदेशका विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दीहरू रिहा

  ०७६ वैशाख २ गते

विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई रोक्न सरकारले एक वर्ष वा कम सजाय भएका र कैद सजाय किन्न सक्ने कैदीबन्दीहरूलाई रिहा गर्ने निर्णय गरे अनुसार गण्डकी प्रदेशको विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दीहरू रिहा भएका छन् ।

इन्सेक  कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार कोरोना भाइरस फैलिए भयावह स्थिति आउन सक्ने भन्दै सर्वोच्च अदालतको चैत्र ७ गतेको पूर्ण बैठकले प्रति दिनको ३ सय रुपियाँ तिरेर क्षमताभन्दा बढी बन्दी कारागारमा रहँदा कैद सजाय किन्न सक्ने व्यवस्था लागू गर्ने निर्णय गरेपछि कास्की कारागारका १२ बन्दी छुटेका छन् ।

कास्की कारागार प्रमुख गणेश गौतमका अनुसार हालसम्म विभिन्न मुद्दामा जेल जीवन बिताइरहेका १० पुरूष र २ महिलाले कैद किनेका हुन् ।

कैद किन्नेमा लागूऔषध गाँजा मुद्दाका पाचँ, चोरीका दुई, जबरजस्ती करणी, डाँका, बहुविवाह र सरकारी छाप दस्तखात दुरूपयोगका क्रमशः ११ जना रहेको गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यसरी छुट्नुपर्ने १६ जना भएपनि तीन जनालाई अदालतले नछोड्न आदेश दिएको भने बाँकी एक जना छुट्ने प्रक्रियामा रहेका छन् ।

कास्की कारागारमा १ वर्ष कैद भुक्तान गरिरहेका ६० जना कैदीबन्दी रहेपनि पटके कुसरदार रहेकाले उनहरूले कैद किन्न पाएनन् । कारागारमा ८ सय १ पुरूष , ६६ जना महिला र दुई जना बालबालिका रहेका छन् ।

इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँ कारागारमा थुनामा रहेका दुई जना कैदी रिहा भएका छन् । ठगी मुद्दामा एक वर्ष सजाय तोकिएका र सवारी ज्यान मुद्दामा ६ महिना कैद तोकिएका व्यास नगरपालिकाका दुईजना कैदी अदालतको आदेश पछि रिहा भएका हुन् ।

तनहुँ कारागारका सुचना अधिकारी नारायण अधिकारीका अनुसार दुईजना कैदी क्रमश १३३ दिन कैद भुक्तानी गरी चैत १८ गते र ११३ दिन कैद भुक्तानी गरी चैत २४ गते रिहा भएका हुन् ।

कारागारमा कोरोना भाइरसको सङ्क्रमणको जोखिम कम गर्न एक वर्ष वा सो भन्दा कम समय कैद तोकिएका कैदीलाई रिहा गर्ने अदालतको आदेश अनुसार उनीहरू रिहा भएका हुन् । हाल कारागारमा १४९ जना कैदी बन्दी रहेका अधिकारीले जानकारी दिनुभयो ।


गण्डकी प्रदेश कार्यालय