खोलाको पानी खान बाध्य भएको स्थानीयहरुको गुनासो

  ०७७ साउन ९ गते

अविरल वर्षाका कारण गएको पहिरोका कारण खानेपानीका मुहान र पाईपहरु बगाएपछि बिगत एक हप्तादेखि खोलाको पानी खान बाध्य भएको बडिमालिका नगरपालिका वडा नम्बर १, २ र ३ का स्थानीयहरुले गुनासो गरेका छन् ।

खानेपानीका मुहान र पाईपहरु पहिरोले बगाएपछि बडिमालिका नगरपालिकाका वडा नम्बर २ र ३ का बजेडी, नडाग, मुसी, ताप्रा, ताप्रीसेरा र सोही नगरपालिका वडा नम्बर १ का कुडी, डुग्रीका झण्डै  ५ सय परिवारहरु  खानेपानीबाट वन्चित हुनु परेको हो ।

खानेपानीको अभाव भएपछि बिगत एक हप्तादेखि खोलाको पानी खानु पर्ने अवस्था आएको स्थानीय खडकराज पाध्यायले गुनासो गर्नु भयो ।

पहिरोले पानीको मुहान नै नष्ट गरेपछि आफूहरुलाई खानेपानीको समस्या भएको र खानेपानीको समस्या भएको एक हप्ता बितिसकेको भएपनि वैकल्पीक व्यवस्था नभएको स्थानीय भरतराज उपाध्यायले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘नजिकै पानीका मुहान छैनन् । हाल खोलाको पानी खाइरहेका छौँ । पहिरो नै खोलामा मिसिएकोले खोलाको पानीमा बालुवा बगिरहेको छ । तर,  अन्य विकल्प नभएकोले त्यही खोलाको पानी खान बाध्य भएका छौँ ।’

जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले खोलाको पानी खाँदा पानीजन्य रोगहरुको सङ्क्रमण बढने भएकोले यसमा ध्यान दिन आवश्यक हुने बताउनु भयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, बाजुराका प्रमुख सुरेश शाहले  पहिरो प्रभावित क्षेत्रमा खानेपानीको समस्य भएको बताउँदै तत्कालको लागि खानेपानी पाईपहरु पठाएको र मर्मत हुनेक्रममा रहेको बताउनु भयो ।

बुढीगंगा नगरपालिकाका वडा नम्बर १, २ र ३ का ५ सयभन्दा बढी परिवार खानेपानी उपभोगबाट वन्चित हुनु परेकोले यसको समाधानका लागि नगरपालिकासँग छलफल गरिरहेको वडा नम्बर २ का अध्यक्ष हिरालाल थापाले बताउनु भयो ।

बुढीगंगा नगरपालिकाका मेयर दिपकबिक्रम शाहले बाढीपहिरोले गर्दा खानेपानीको मुहान नै बगाएर लगेको कारण स्थानीयलाई समस्या भएको बताउँदै तत्तकालका लागि नजिकैको मुहान पहिचान गरी पाईप पठाएर खानेपानीको व्यवस्थापनमा लागिरहेको बताउनु भयो ।

स्थानीयहरुलाई खानेपानीको हाहाकार भएको भन्ने जानकारी प्राप्त भएदेखि नै यसको व्यवस्थापनका लागि स्थानीय सरकारसँग समन्वय गरी समाधानका लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताउनु भयो ।


पदमबहादुर सिंह