खोटाङमा स्थगित मतदान पुनः सुचारु

  ०७४ मङ्सिर १० गते

द्रिरुङ गाउँपालिका-७ टेम्मास्थित शान्ति मावि केन्द्रमा एकै व्यक्तिले धेरै जनाको मतदान गरेको विषयमा उत्पन्न विवादपछि स्थगित गरिएको मतदान पुनः सुचारू भएको छ ।

लोकतान्त्रिक र वाम गठबन्धनका कार्यकर्ताबिचमा भएको विवादले झडपको रूप लिएपछि स्थगित भएको मतदान प्रक्रिया दलीय सहमतिपछि सुचारू गरिएको हो ।

लोकतान्त्रिक गठबन्धनका एक कार्यकर्ताले दुईभन्दा बढी मतदाताको मत खसाल्दिन लागेको विषयमा विवाद भएपछि वाम गठबन्धनका कार्यकर्ताले हात हालेपछि मतदान कार्य स्थगित गर्नुपर्ने अवस्था सिर्जना भएको पाइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

मतदाता उभिएकै लाईनमा हात हालाहाल भएपछि मतदान रोकिएको थियो । मतदानका क्रममा एकाघरका वा इच्छाएका व्यक्तिले बढीमा दुई जनाको मत खसाल्न पाउने सहमती भएकामा तीन जनाको हाल्ने प्रयासका क्रममा विवाद सिर्जना भएको थियो ।

योसँगै जिल्लाका १ सय ३६ मतदानस्थलका १ सय ७९ ओटै मतदान केन्द्रमा मतदान भइरहेको खत्रीले जानकारी दिए ।

घटनामा संलग्न वाम गठबन्धनका तीन जनालाई गिरफ्तार गरिएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताए । यस्तै, रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित सरस्वती मावि केन्द्रमा भएको विवाद पनि हल गरेर सहज तवरले मतदान सुचारू गराइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


सुनिता मगर