खेलमार्फत विपद जोखिम न्यूनीकरण गर्न सकिनेमा सरोकारवालाको जोड

  ०७६ असार २५ गते

खेलमार्फत विपद जोखिम न्यूनीकरण गर्न सकिनेमा एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् ।

असार २५ गते ललितपुरमा आयोजित विपद जोखिम न्यूनीकरणका लागि शैक्षिक सामग्री घोषणा सहित हस्तान्तरण कार्यक्रममा सरोकारवालाहरूले सो कुरामा जोड दिएका हुन् ।

सन् २०१५ मा नेपालमा भूकम्प गए पश्चात इन्सेकले सन् २०१७ जनवरीबाट विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरेको थियो ।

भूकम्पले पारेको भौतिक क्षतिसँगै मनोवैज्ञानिक असरलाई पूर्ण रूपमा बाहिर ल्याई आगामी दिनमा त्यसबाट कसरी बच्न सकिन्छ भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको इन्सेकले जनाएको छ ।

भूकम्पले सयौँ घर, विद्यालय, मठमन्दिर तथा अस्पतालमा पूर्ण रूपमा क्षति भएका थिए । त्यसले सबैभन्दा बढी असर साना साना विद्यार्थी भाइबहिनीमा पर्न गएको र त्यसको असरलाई न्यूनीकरण गर्न पनि बालबालिकामार्फत नै सफल हुने उद्देश्यले कार्यक्रम विद्यालयस्तरमा लगिएको हो ।

यस्तै कार्यक्रमको थालनी हुँदै गर्दा विपद जोखिम न्यूनीकरण गर्ने सबैभन्दा उत्तम उपाय भनेको शिक्षा सामग्री कार्यक्रमको भएको र त्यो पनि खेलको माध्यममार्फत चेतना दिने नयाँ तरिका अपनाइएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) की अध्यक्ष डा. इन्दिरा श्रेष्ठले बताइन् ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाल भूकम्पको दृष्टिले निकै जोखिमपूर्ण मध्येकै एक राष्ट्र भएकाले भूकम्पलगायत अन्य जोखिमबाट बच्न तथा बचाउन सबैले ध्यान दिनुपर्ने बताए ।

उनले राम्रो र सबैको हित गर्ने यस्ता कार्यक्रमहरूमा अन्य संस्थाले सहयोग गरेपनि सहयोगी हातहरूको मात्रै खोजी नगरी हामी स्वयम्बाटै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।

इन्सेकले सुरू गरेको र जाइका नेपालको सहयोग रहेको यस कार्यलाई महानगरपालिकाले निरन्तरता दिने प्रमुख महर्जनले प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाको विपत ब्यवस्थापन शाखाकी प्रमुख अर्चना श्रेष्ठले विद्यार्थी सबैभन्दा ठूलो शक्ति भएकाले घर परिवार तथा समाजलाई जोखिमबाट बच्ने उपाय छिटो सिकाउन मद्दत पुर्‍याउन सक्ने बताइन् ।

कार्यक्रममा प्लस आर्ट जापानका हिरोकाजु नागाता, सिटिनेट (योकोहामा) का किन्द्रा हिराता तथा जाईका नेपालका यूमिको आसाकुमाले नेपालमा भूकम्पले बालबालिकालाई पारेको असर र आगामी दिनमा आउन सक्ने जोखिमबाट बच्नका लागि अपनाउनुपर्ने सावधानीका विषयमा आआफ्नो विचार राखेका थिए ।

यस कार्यक्रममा काठमाडौँ, भक्तपुर, ललितपुर, चन्द्रागिरी र शङ्खरापुर गरी पाँच नगरपालिकालाई समेटिएको छ । यी पाँच ओटा नगरपालिकाका १९ ओटा विद्यालयका ३५ जना शिक्षकलाई जोखिम न्यूनीकरण गर्न विद्यार्थीलाई कसरी सहभागीता गराउने भन्ने बारे तालिम तथा सामग्री हस्तान्तरण गरिएको छ ।

तालिममा सहभागी भएका शिक्षक तथा शिक्षिकाद्वारा नै जोखिम न्यूनीकरण गर्न खेलको माध्यम अपनाइने बारे अध्ययन तथा अनुसान्धान गरी खेलका अभ्यासहरूको थालनी गरिएको हो ।

विभिन्न खेलहरूबाट १० खेललाई अन्तिम छनौट गरी त्यसको अभ्यासलाई सबैले सहयोग गरी खेल सिकाई समेत सफल भएको कार्यक्रममा सहभागी शिक्षिका रिमा अर्यालले बताइन् ।

कार्यक्रमलाई इन्सेक, प्लस आर्ट जापान, सिटिनेट संस्थाहरुले सहजीकरण गरेका थिए भने आर्थिक सहयोग भने जाइका नेपाल रहेको छ ।

photo201890710lalitpur (1)

photo201890710lalitpur (2)

photo201890710lalitpur (3)

photo201890710lalitpur (4)

photo201890710lalitpur (5)

photo201890710lalitpur (6)

photo201890710lalitpur (7)

photo201890710lalitpur (8)

फोटोः बिमलचन्द्र शर्मा


विमला पौडेल