खान र स्वास्थ्य उपचार नपाएर मृत्यु भएको घटनाप्रति मानवअधिकारकर्मीको ध्यानाकर्षण

  ०७७ जेठ १६ गते

छिमेकी देश भारतको अहमदावादबाट ६ दिन पैदल यात्रा गरी धनुषाको जटही नाकामा आएका सहिद नगरपालिकाका ३० वर्षीय विरेन्द्र यादवको जेठ १४ गते खाना खान र स्वास्थ्य उपचार गराउन नपाएर मृत्यु भएको र सप्तरीको कञ्चनरुप नगरपालिका–५ पथरीको रामपुर बस्ने मलर सदाको जेठ ६ गते खाना खान नपाएर घरमा मृत्यु भएको घटनाप्रति मानवअधिकारको क्षेत्रमा क्रियाशिल संस्थाका प्रतिनिधिहरूले ध्यानाकर्षण भएको जनाएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय, एड्भोकेसी फोरम, मानवअधिकार रक्षक सञ्जाल, ओरेक नेपाल, नेपाल मानवअधिकार सङ्गठन, सेफ नेपाल, निलहिरा समाज, नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ, महिला मानवअधिकार रक्षक सञ्जाल, नागरिक संवाद केन्द्र लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूले जेठ १५ गते जारी गरेको विज्ञप्तिमा राज्यको सेवा सुविधाबाट सर्वसाधारण जनता लाभान्वित हुनुपर्ने माग गरेका छन् ।

कोभिड १९ को विश्वव्यापी महामारीको कारण सिर्जित लकडाउन र यो लकडाउनको अवधि बढ्दै जाँदा खान नपाएर तथा स्वास्थ्य उपचार गराउन नपाएर प्रदेशका नागरिकको मृत्यु भएको समाचारले हामी मानव अधिकारकर्मीहरूलाई मर्माहित तुल्याएको जारी विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ–“गरिव, असहाय, बेरोजगारहरूलाई खाद्य सामग्रीसहितको उचित राहत वितरण गरी विरामीहरूको स्वास्थ्य उपचार गराउने प्रभावकारी व्यवस्था मिलाउन हामी प्रदेश सरकार, सम्बन्धित स्थानीय सरकारहरू तथा प्रदेशभित्रका सम्पुर्ण सरकारी अधिकारी, अस्पताल लगायतका सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहन्छौँ ।”

प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक तथा आकस्मिक सेवाबाट वञ्चित नहुने नेपालको संविधानको धारा ३५ मा व्यवस्था गरिएपनि अहिले बिरामीहरू अस्पतालमा जाँदा उपचारबाट वञ्चित भएको विज्ञप्तिमा उल्लेख छ ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले कोभिड १९ तथा लकडाउनको अवधिमा गरिब, विपन्न नागरिकलाई राहत वितरण गर्ने प्रतिबद्धता जनाएपनि सरकारको मापदण्ड अनुसार राहत वितरण नगरेको र वास्तविक राहत पाउनेले नपाएको विज्ञप्तिमा उल्लेख छ ।

“क्वारेन्टाइनमा राखिएका व्यक्तिहरूका लागि खाने र बस्ने व्यवस्था राम्रो नभएको, एउटै कोठामा कोच्चाएर राखिएको, पुरूष र महिलाका लागि अलगै शौचालयको व्यवस्था नभएको, तातो पानी, पोषिलो खाना, चप्पल, साबुन र स्यानिटाइजर लगायत सरसफाइका सामग्रीहरू नभएको गुनासाहरू छन् ।”–विज्ञप्तिमा भनिएको छ । यसप्रति गम्भीर हुन र क्वारेन्टाइनको व्यवस्थापन पक्षलाई प्रभावकारी बनाउन तीनै तहका सरकारसँग अधिकारर्मीहरूले विज्ञप्ति मार्फत माग गरेका छन् ।


दीपेन्द्रप्रसाद सिंह