खानेपानी आपूर्ति नहुँदा जनजीवन कष्टकर

  ०७५ चैत २२ गते

शैल्यशिखर नगरपालिकास्थित विभिन्न वडाका स्थानीयहरूले खानेपानीको समस्या झेल्नु परेको गुनासो गरेका छन् ।

शैल्यशिखर नगरपालिका -८ का गणेशदत्त जोशीले स्थानीयको दैनिकी पानी बोक्नैमा बित्ने गरेको दुःखेसो पोखे । गाउँनजिक खानेपानीका मुहान नहुनु र सरोकारवाला निकायहरूबाट खानेपानी समस्या समाधानका योजनाहरू नआउँदा वर्षौँदेखि आफूहरूले खानेपानीको अभावमा जीवन बिताउनु परेको स्थानीय गंगादत्त जोशीले बताए । उनले भने - 'अहिले बोहोरीगाउँका मल्ला लेक, पत्यागैर, खालीमा, झरकडा, गल्चौरा, ठुलागैर लगायत टोलका नागरीकहरूले डेढ घण्टा टाढाको मुलबाट पानी बोकेर पिउन र अन्य प्रयोजनका लागी प्रयोग गर्ने गरेका छन् ।'

शैल्यशिखर नगरपालिका -८ का झन्डै ८० परिवार मानिसहरूले रातापानी बोहोरीगाउँ र झरकडा तल्लापनेर मूलबाट खानेपानी बोकेर पिउने गरेको जोशीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारले गोकुलेगाडबाट पम्पिङ खानेपानी योजना बोहोरीगाउँमा लैजाने लक्ष्यका साथ ३० लाख रूपियाँ बजेट बिनियोजन गरेको भए पनि कार्यान्वयन भने हुन सकेको छैन । शैल्यशिखर नगरपालिका -४ मा २०६३ सालमा निर्माण गरिएको खानेपानी योजनाको मर्मत सम्भार नहुँदा स्थानीयले खानेपानीको सास्ती व्यहोर्नु परेको छ । १८ किलोमिटर टाढा नौगाड गाउँपालिका-६ परिगाउँबाट ल्याइएको खानेपानी योजनाको मर्मतसम्भार नहुँदा अहिले स्थानीयले दिनहुँ दुई घण्टा हिँडेर पानी बोक्नु परेको हो ।


नरेन्द्रसिंह कार्की