खानेपानीको चरम अभावपछि स्थानीय प्रभावित

  ०७६ वैशाख २७ गते

बनगाड कुपिण्डे नपा–१२ मा रहेका विभिन्न स्थानमा खानेपानीको चरम सङ्कटसँगै स्थानीयबासी प्रभावित भएका छन् ।

निगाल्चुला, कुपिण्डे, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे र देवस्थल गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव हुन थालेपछि त्यहाँका बासिन्दा बसाइँ सर्न समेत बाध्य भएका छन्् ।

बनगाड कुपिण्डे नगरपालिकाभित्र रहेका उच्च बस्तीमा खानेपानीको स्रोत नहुँदा बस्ती नै सङ्कटमा परेको स्थानीय झलक बुढाले बताए ।

पानीको मुल सुक्दै गएकाले बर्षेनी तीनदेखि पाँच परिवारले गाउँ छोड्न थालेको भन्दै उनले बस्ती नै खाली हुने खतरा रहेको औँल्याए ।

पहाडका उच्च स्थानमा रहेका बस्तीहरूमा पानीको अभाव भएपछि दिनभरी लगाएर दुइ गाग्री पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीय इन्द्र पुनको भनाई छ ।

“दिनभरमा मुस्किलले तीन÷चार गाग्री पानी आउँछ परिवारमा सात÷आठ जना हुन्छन्, अन्य कुरा त परै जाओस् खानेपानी पु¥याउन समेत समस्या हुने गरेको छ ।

‘पानी बोक्नुपर्ने भएकाले गर्दा बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।’–निगाल्चुलाका अभिभावक प्रेम बहादुर पुनले बताए ।

आकाशे पानी सङ्कलनका लागि बनाइएका पुराना पोखरीमा पनि पानी सुकेपछि बस्तुभाउलाई समेत पानी बोकेर खुवाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

पानी सङ्कलनका लागि निगाल्चुलामा चारओटा पोखरी बनाइएको भएपनि यस वर्षदेखि पानी पूरै सुकेपछि बस्तुभाउ बचाउनै गा¥हो भएको स्थानीय लालबहादुर घर्तीले बताए ।

पर्याप्त पानी नपरेपछि आकाशे पानी सङ्कलनका लागि बनाइएका घैँटासमेत खाली रहेको र पानीको अभावकै कारण बस्तुभाउ पाल्न छोडेको स्थानीयवासी नारायण खत्रीले बताए ।

पहिले नजिकै कुवाबाट पानी ल्याउने गरेको भए पनि कुवा सुकेपछि स्थानीयवासी गाउँ छोडेर अन्यत्र जान थालेको खत्री बताउँछन् ।

करिब ३६ हजार जनसङ्ख्याको बसोबास रहेको सो क्षेत्रमा खानेपानी अभावसँगै विद्यालय र घरमा बनाइएका शौचालय दुर्गन्धित र फोहर भएर प्रयोग गर्न नमिल्ने भएको स्थानीय बताउँछन् ।

सो क्षेत्रमा खानेपानीको समस्याबारे नगरपालिकाको कार्यालय जानकार रहेको र अबको आर्थिक वर्षमा बजेट विनियोजन गरी लिफ्टिङ प्रणालीबाट खानेपानी वितरणको तयारी गरिरहेको बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्दकुमार पुनले बताए ।

पुनले खानेपानीको समस्या समाधान गर्नेतर्फ आफ्नो प्राथमिकता रहेको र केही समयभित्रै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।

Photo20190510Salyan01

Photo20190510Salyan02


मीना बुढाथोकी