खाद्य सुरक्षाका सवालमा उपभोक्ता नै सचेत बन्नुपर्नेमा जोड

  ०७६ असोज ३० गते

खाद्य सुरक्षाका सवालमा अनुगमन भन्दा पनि उपभोक्ता नै सचेत बन्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

विश्व खाद्य दिवसको सन्दर्भमा असोज २९ गते राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय तथा र इन्सेक गण्डकी प्रदेश, कार्यालयको संयुक्त आयोजनामा पोखरामा सम्पन्न खाद्य अधिकारको सवाल विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्यूतप्रसाद ढकालले नेपालमा खाद्यन्नको अभाव भन्दा पनि भएको खाद्यन्नको सदुपयोग हुन नसकेको भनाइ राखे ।

‘खाद्य उत्पादनको एक तिहाइ खेर फालिरहेका छौँ । अभाव होइन सदुपयोग नभएको हो ।’–उनले भने । ढकालले गण्डकी प्रदेश सरकार पाँच वर्ष भित्र उत्पादनलाई दोब्बर गराउने योजना सहित अगाडि बढिरहेको बताए ।

गण्डकी प्रदेशमा ६४ प्रतिशत जनसंख्या कृषिमा आधारित रहेको बताउँदै ढकालले उत्पादनसँगै वितरण प्रणालीलाई व्यवस्थित गर्ने योजना समेत रहेको सुनाए ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका प्रमुख गोविन्द शर्मा पौडेलले खाद्य अधिकारका सवालमा अझै पनि नागरिक सचेत बन्न नसकेको बताए । ‘कृषकले बारिबाट टिपेर ल्याएको साग नहरको पानीमा पखाल्ने प्रवृत्ति छ यसबारे आफैपनि सोच्नुपर्ने होइन र ?’,–उनले भने ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय, पोखराका प्रमुख प्रशान्त पोखरेलले विषादीको विषयमा कुराकानी बढी गर्नुभन्दा पनि उपभोक्ता आफँैले मौसमी खानेकुरामा जोड दिनुपर्ने बताए ।

पोखरा महानगरपालिका कृषि महाशाखाका मनोहर कडरियाले बालीमा लागत भन्दा आम्दानी कम हुने गरेका कारण सहज उत्पादन होस् भन्ने उद्देश्यले गाउँगाउँका किसानहरूलाई शाखाले यन्त्र तथा उपकरण प्रदान गर्ने गरेको जानकारी दिए ।

कार्यक्रममा ‘गण्डकी प्रदेशमा खाद्य अधिकारको सवाल’ विषयमा कार्यपत्र प्रस्ततु गर्दै राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश निर्देशक दिपकजंगध्वज कार्कीले पोषणयुक्त स्थानीय बाली वस्तुहरूको संरक्षण, उत्पादन प्रवर्धन र उपभोग प्रोत्साहनमा जोड दिनुपर्ने बताए । कार्कीले प्रदेश र स्थानिय तह बिच समन्वय संरचना निर्माण गरी संकटजन्य अवस्थाको लागि खाद्यान्न मौज्दात राख्ने व्यवस्था गर्न सुझाव दिए ।

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिव खकुरेलले खाद्य अधिकारको सवालमा आम नागरिकलाई जानकारी गराउन कार्यक्रम आयोजना गरिएको बताए ।

उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइरालाले अनुगमनले मात्रै सबै काम गर्न नसक्ने हुँदा आफ्ना हकबारे स्वयम् उपभोक्ता पनि सचेत हुनुपर्ने भनाइ राखे ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराका अध्यक्ष विष्णुप्रसाद बरालले राज्यले कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्ने बताए ।

पोखरा उद्योग वाणिज्य संघ सदस्य मुना बास्तोलाले राज्यले वितरण गर्ने अनुदानमा नक्कली कृषकहरूको बिगबिगी बढेको भन्दै वास्तविक कृषकको पहिचान गरेर मात्रै अनुदान रकम वितरण गर्न प्रदेश सरकारसंग आग्रह गरिन् ।

कार्यक्रममा सहभागी नेकपाका प्रतिनिधि सुवास मल्लले भौगोलिक अवस्था अनुरूपको खाद्य उत्पादन र उपयोगमा जोड दिनुपर्ने भनाइ राखे ।

Photo20191017Kaki01

Photo20191017Kaski02

Photo20191017Kaski03


सुशन घिमिरे