खाद्य संस्थानमा चामलको ढुवानी नहुँदा स्थानीय अन्नको माग

  ०७३ मङ्सिर ४ गते

हुम्लाको खाद्य संस्थानमा हवाई जहाजबाट चामल ढुवानी हुन नसक्दा स्थानीय अन्नको माग बढेको छ । संस्थानले असोज २७ गते गाविसको कोटाको चामल एक घरको दश केजीका दरले वितरण गरेको थियो ।

उक्त चामल मङ्सिर २ गतेसम्म ढुवानी नभएपछि जिल्ला प्राथमिक खरिद समितिको सरकारी निर्णय अनुसार कात्तिक ३० गते बसेको समितिले जिल्लामा पहिलो पटक सिमी र फापर खरिद गर्ने निर्णय गरेको खाद्य संस्थान हुम्लाका प्रमुख नारायणसिहं केसीले बताए ।

समितिले सरकारी दररेट अनुसार सिमी प्रति केजी १ सय ६० रुपियाँ र फापर प्रति केजी ५० रुपियाँमा खरिद गर्ने प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले बताए । जिल्लामा भएको उक्त निर्णयलाई संस्थानले केन्द्र तथा विभागमा समन्वय गरेर खरिद कार्य अगाडि बढाएको प्रमुख केसीले जानकारी दिए ।

उक्त अन्न जिल्लाका आर्थिक अवस्था राम्रो भएका व्यक्तिबाट खरिद गरेर भोकमरीको समस्या भोग्दै आएका स्थानीयबासीलाई सहुलियत दरमा वितरण गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।


नन्द सिंह