खाद्य संस्थानद्वारा अनुदानका लागि दिनु पर्ने चामलमा लिएको रकम फिर्ता गर्ने प्रतिबद्धता

  ०७४ असोज २८ गते

कर्णालीबासीलाई जन्म र मृत्यु संस्कारमा नेपाल सरकारले अनुदानमा दिने भनिएको चामल खाद्य संस्थानले अनुदानमा उपलब्ध नगराएको विषयमा इन्सेकको पहलपछि उक्त रकम फिर्ता गर्ने नेपाल खाद्य संस्थानले जनाएको छ ।

यस विषयमा नेपाल खाद्य संस्थान, प्रमुख जिल्ला अधिकारीलगायतका सरोकारवालालाई इन्सेकले जानकारी गराई असोज २३ गते इन्सेक अनलाइनमा समाचार प्रकाशित गरिएको थियो । यसैगरी यस विषयमा इन्सेकले जिल्लाका अन्य सञ्चारकर्मीलाई पनि जानकारी गराएको थियो ।

इन्सेक अनलाइन र अन्य सञ्चारमाध्यममा यस विषयमा समाचार प्रकाशन तथा प्रशारण भएपछि नेपाल खाद्य संस्थान हुम्लाले लिएको रकम फिर्ता गर्ने संस्थानका प्रमुख नारायण सिंह केसीले प्रतिबद्धता जनाएका हुन् ।

कर्णालीबासीलाई जन्म र मृत्यु संस्कारमा चामल अनुदानमा दिने घोषणा गरे अनुरुप हुम्लालगायतका कर्णाली अञ्चलका पाँचै ओटा जिल्लामा नेपाल खाद्य संस्थान शाखा कार्यालयले गाउँपालिकाको सिफारिसका आधारमा निःशुल्क २० केजी चामल दिँदै आएको थियो ।

तर, हुम्लामा भने सोना मसिनो चामलको भन्दै प्रति २० केजीबाट २ सय ४० रुपियाँका दरले प्रति जन्म र मृत्यु भएका व्यक्तिका परिवारबाट रुपियाँ लिएको थियो । कार्यालय प्रमुख दसैँको विदामा घरमा गएपछि खाद्य संस्थान कार्यालयबाट कार्यालय सहयोगीले मृत्यु भएका व्यक्तिका तीन परिवारबाट भुलवस रकम लिएको जिल्ला खाद्य संस्थान हुम्लाले स्वीकार गरेको छ ।

अञ्जानबस रकम लिएको सम्बन्धमा दुखः व्यक्त गर्दै रुपियाँ लिन आउन खाद्य संस्थान हुम्लाका प्रमुख केसीले पीडित परिवारलाई अनुरोध गरेका छन् ।


नन्द सिंह