खाद्य संस्थानको अनुदान चामलमा अतिरिक्त मूल्य तिर्नु परेको स्थानीयबासीको गुनासो

  ०७६ माघ ३ गते

नेपाल सरकारले शतप्रतिशत ढुवानीमा अनुदान दिँदै आएको चामल नेपाल खाद्य संस्थानले अतिरिक्त मूल्य लिने गरेको स्थानीयबासीले गुनासो गरेका छन् ।

कर्मचारीको तलव भत्ता र प्रशासनिक खर्च व्यवस्थापनका नाममा संस्थानले अतिरिक्त मूल्य लिँदै आएको ताँजकोटकी स्थानीयबासी छत्तकला बुढाले आरोप लगाउनु भएको छ ।

नेपाल सरकारको पूर्णस्वामित्वमा रहेको खाद्य संस्थानलाई सरकारले शतप्रतिशत ढुवानी अनुदान दिएको छ । तर, संस्थानले भने दुर्गमका उपभोक्ताबाट प्रति क्वीन्टलमा १ सय रुपियाँदेखि २ हजार ५ सय रुपियाँसम्म सरकारी मूल्य भन्दा बढी मूल्य लिने गरेको छ ।

शतप्रतिशत ढुवानी अनुदान पाउँदा पनि संस्थानले केन्द्र अनुसार फरकफरक मूल्यमा चामल विक्री गरेको छ । ढुवानी अनुदानको चामलमा अतिरिक्त मूल्य जोडिँदा हुम्लाका उपभोक्ता मारमा परेका छन् ।

हुम्लाका विभिन्न ६ स्थानबाट चामल वितरण गरेको संस्थानले अरुवा मन्सुली चामलमा ताँजकोट गाउँपालिकाको छप्रेलामा प्रतिक्विण्टल ५ हजार ८ सय रुपियाँ, अदानचुलीको श्रीनगर र चङ्खेलीको देउलीमा ३ सय रुपियाँ अतिरिक्त मूल्य लिएर ६ हजार १ सय रुपियाँमा विक्री भइरहेको स्थानीय छत्तकला बुढाले आरोप लगाउनु भयो ।

सोही चामल थप १ सय रुपियाँ जोडेर ६ हजार २ सय रुपियाँमा सिमकोटमा रहेको खाद्य संस्थान कार्यालयले वितरण गरिरहेको छ ।

यति मात्रै नभएर अदानचुलीसँगै जोडिएको मुगुको शोरुकोटमा त्यही चामल ५ हजार २ सय ५० रुपियाँमा विक्री भइरहेको छ भने रातापानीमा ५ हजार २ सय रुपियाँमा विक्री भएको छ ।

यस्तै संस्थानले मुगुको रातापानी र शोरुकोट डिपोमा प्रतिक्विण्टल ४ हजार ६ सय रुपियाँका दरले विक्री गरेको अरुवा जापनिज चामल २ सय रुपियाँ अतिरिक्त मूल्य जोडेर हुम्लाको ताँजकोटको छप्रेलामा ४ हजार ८ सय रुपियाँ, अदानचुलीको श्रीनगरमा १ हजार ९ सय रुपियाँ जोडेर ५ हजार ५ सय रुपियाँमा वितरण भएको स्थानीयले बताएका छन् ।

सरकारले ढुवानी अनुदानमा दिएको चामलमा गरीब निमुखा जनताको ढाड सेक्ने गरी अतिरिक्त मूल्य असुलेको भन्दै स्थानीयले सम्बन्धित चामल वितरण केन्द्रहरुमा ०७६ मङ्सिरदेखि पुस मसान्तसम्म नै स्थानीयले विरोध गरिरहेका छन् ।

‘एक घण्टाको पैदल दूरीमा सरकारी चामलकै दर निकै फरक पर्‍यो ।’–अदानचुली–५, कर्गैइका नैन छत्यालले भन्नु भयो–‘कवाडी भन्ने ठाउँमा प्रतिक्विण्टलको ४ हजार ८ सय रुपियाँ तिरेर चामल ल्याएको एक महिनापछि अदानचुलीको श्रीनगर विक्री केन्द्रमा ६ हजार ५ सय रुपियाँ तिर्नु  पर्‍यो।’

‘सरकारले हामीजस्ता गरिबका नाममा करोडौं रकम दिन्छ, तर बीचमा बिचौलियाका कारण सरकारी सुविधा आइ पुग्दैन ।’–छत्यालले भन्नु भयो –‘चरम खडेरी पर्ने क्षेत्र भन्दै हुम्ला, मुगुलगायत नेपालका २३ जिल्लामा सतप्रतिशत ढुवानी अनुदान दिएकाले चामलमा अतिरिक्त मूल्य जोड्नु आपत्तिजनक  छ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अदानचुली इञ्चार्ज हस्तबहादुर शाहीले सरकारी अनुदानको चामलमा फाइदा खान खाद्य संस्थानले गरेको बदमासी छानविन गर्नुपर्ने बताउनुभयो ।

संस्थानको अतिरिक्त मूल्यबारे यस मातहतका कार्यालय भने अनविज्ञ छन् । ‘खाद्य संस्थान केन्द्रीय कार्यालयको वितरण शाखाले पठाएको दरअनुसार हामीले शाखा, डीपो र वितरण केन्द्रमा चामल विक्रीको प्रबन्ध मिलाउने हो ।’–खाद्य संस्थान हुम्ला शाखाका प्रमुख रामबहादुर बिष्टले भन्नु भयो–‘ अतिरिक्त मूल्य किन लगियो भन्नेबारेमा हामीलाई होइन माथि (केन्द्र) मा नै सोध्नुहोस् ।’

नेपाल खाद्य संस्थान धनगढी कार्यालयबाट अछाम, बाजुरा, हुम्ला र मुगु पठाउने चामलको खरिद र ढुवानी हुँदै आएको छ । हुम्ला र मुगुका गाउँमा चामलको मूल्य केही अमिल्दो भएको उक्त कार्यालयका जिन्सी अधिकृत धर्मराज पन्तले बताउनु भयो ।

उहाँका अनुसार संस्थानकै आन्तरिक कमजोरीका कारण पनि हुम्ला र मुगुका नागरिकले ठूलो अन्तरको मूल्यमा चामल खानु पर्ने बाध्यता भएको हो । यसमा संस्थानको केन्द्रीय कार्यालयबाहेक आफूहरूले केही गर्न नसक्ने उहाँको भनाइ छ ।

केन्द्रको परिपत्रलाई कार्यान्वन गर्न जिल्ला र स्थानीय तहका वितरण केन्द्रलाई निर्देशन दिने काम मात्रै गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार धनगढीमा २ हजार ३ सय क्विन्टल धान खरिद गरेर चामल तयार पार्दासम्म अरुवा मोटो चामलको मूल्य ४ हजार २ सय रुपियाँ पर्न आउँछ ।

‘तर, हुम्लाका गाउँमा केही महङ्गो पर्न गएको छ ।’–उहाँले भन्नुभयो–‘क्रयशक्ति कम भएका गाउँका नागरिकलाई मर्का परेकै भए अब संस्थानमा कुरा गर्नु पर्ला ।’

यसैगरी एक शाखा दुई डीपो र तीन वितरण केन्द्र भएको हुम्लामा २२ हजार १ सय ६४ क्विन्टल ६९ किलो चामल वितरण भएको छ । खाद्य संस्थानका अनुसार सबै चामलमा स्थान विशेष २ हजार रुपियाँसम्म अतिरिक्त मूल्य लिएर विक्री गरिएको छ ।

त्यस्तै संस्थानले फरकफरक मूल्यमा विक्री गर्दै आएको चामलमा मूल्य समायोजन नभए ढुवानी गर्ने जिम्मा पाएका ठेकेदारले चामल नबोक्ने चेतावनी दिएका छन् ।

एकै जिल्लामा फरकफरक मूल्यमा चामल विक्री गर्दा समस्या हुने भन्दै धनगढीदेखि श्रीनगर डीपोसम्मको चामल ढुवानी गर्ने जिम्मा पाएका ठेकेदार लोकेन्द्र भण्डारी, नन्द महतारा र दुर्गाबहादुर बुढाले यस्तो चेतावनी दिएका हुन् ।

‘संस्थानले मूल्य समायोजन नगरे हामी धनगढी गोदामबाट एक दाना चामल उठाउँदैनौँ ।–अदानचुली गाउँपालिकाको कार्यालय पुगेका ठेकेदार लोकेन्द्र भण्डारीले भन्नुभयो–‘संस्थानको निर्णयका कारण हामीलाई आफ्नो बदनाम पार्नु छैन ।’

हुम्लाका गाउँपालिकाले मूल्य समायोजन गर्न नेपाल खाद्य संस्थानले आफूलाई पनि नटेरेको बताएका छन् ।

‘एक घण्टाको दूरीमा निकै अस्वभाविक मूल्य भएको भन्दै संस्थानलाई मूल्य समायोजन गर्न पटकपटक लिखित तथा मौखिक अनुरोध गर्‍यौँ ।’–अदानचुली गाउँपालिका हुम्लाका अध्यक्ष दल फडेराले बताउनु भयो ।


नन्द सिंह