खाद्य डिपोमा एक महिनायता चामल अभाव

  ०७७ जेठ २४ गते

खाँदबारीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपोमा एक महिनायता चामल अभाव भएको छ ।

जिल्लाभरमा हुन सक्ने खाद्य सङ्कट समाधानका लागि स्थापना भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा नै चामल अभाव भएपछि उपभोक्ता खाद्य अधिकारबाट वञ्चित हुनु परेको छ ।

वैशाख महिनादेखि डिपोमा चामल सकिए पनि कम्पनीले थप चामल भण्डार गर्न सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सङ्खुवासभाले महिनायता खाद्यन्न विक्रि गर्न नसकेको जानकारी दिएको छ ।

चामल अभाव भएपछि लकडाउनका समयमा चामल वितरण गर्न नसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खाँदबारीका सूचना अधिकारी रामप्रवेश मण्डलले जानकारी दिनुभयो ।

विपद् र जिल्ला कारागारका लागि राखिएको दुई सय क्विन्टल चामल मात्र डिपोमा रहेको सूचना अधिकारी मण्डलले बताउनुभयो ।

डिपोमा चामल नआएकोले डिपो बन्द गरेर बस्नु पर्ने बाध्यता भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सङ्खुवासभाले जनाएको छ ।

दैनिक ३ हजार ५ सय केजी चामल विक्रि गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अहिले डिपो बन्द गरेर बसेको छ ।

जिल्लामा सुपथ मूल्यमा चामल विक्री बितरण गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लकडाउनको सयमा भने खाद्यान्न वितरण गर्न नसकेको जानकारी दिएको छ ।

विपन्न र दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकले सुपथ मुल्यमा किनेर उपभोग गदै आएको चामल अभाव भएपछि उनीहरू मर्कामा परेका छन् ।

लकडाउनको समयमा खाद्य डिपोले चामल नदिएपछि महङ्गो मूल्यमा चामल किन्न बाध्य भएको खाँदबारी नगरपालिका–१ की विष्णु राई गुनासो गर्नुभयो ।

जिल्लामा आएको चामल महिना अघि नै सकिएको र थप चामल नआउँदा माग अनुसार चामल विक्रि गर्न नसकिएको डिपोका सूचना अधिकारी मण्डल बताउनुभयो ।

लकडाउका कारण चामल ल्याउन नसकिएको डिपोले जनाएको छ । खाँदबारी नगरपालिकाले राहत वितरणका लागि ३ सय २० क्विन्टल चामल माग गरेपनि खाद्य डिपोले चामल उलपब्ध गराउन सकेको छैन ।

जिल्लाका ब्यापारीहरूले लकडाउनको मौका छोपेर दैनिक उपभोग्य वस्तुमा मुल्य बढाएका छन् ।

लक डाउनको समयमा व्यापारीले एक बोरा चामलमा २ सय देखि ३ सय सम्म मूल्य बढाएको स्थानीयले बताएका छन् ।

लकडाउनका कारण खाद्य वस्तुहरूको मुल्य समेत बढाएकाले मारमा परेको खाँदबारी –९ का रमेश मगरले बताउनुभयो । खाद्यले विक्रि गर्ने चामल व्यापारी सँग किन्दा किलोमा १० देखि १५ रुपियाँ मङ्गगो परेको उहाँको भनाइ छ ।


भविन कार्की