खाद्य अधिकार हनन् भएको प्रकोप पीडितको गुनासो

  ०७३ माघ १ गते

मेलौली-३ स्यालतडीका प्रकोप पीडित परिवारले आफ्नो खाद्य अधिकार हनन् भएको गुनासो गरेका छन् ।

पहिरोले सिञ्चाई कुलो भत्किएको वर्षौँ भइसक्दा समेत सम्बन्धित निकायले बेवास्ता गरेका कारण आफूहरू खाद्य अधिकारबाट वञ्चित भएको उनीहरूको गुनासो छ ।

०६४ भदौमा आएको पहिरोले सिञ्चाईका लागि प्रयोग हुँदै आएको ५ सय ५० मिटर लामो कुलो भत्काएपछि स्थानीय ५० परिवार विस्थापित भएका थिए ।

"सिञ्चाई अभावमा खेतीयोग्य जमिन बाँझो हुँदा गाँउ छोडन बाध्य भयौँ ।"- स्थानीयले गुनासो गरेका छन् ।

सिञ्चाई कुलो निर्माणका लागि पटक-पटक सम्बन्धित निकायलाई गुहार्दासमेत सुनुवाइ नभएको उनीहरूको गुनासो छ ।

उर्वर भूमि बाँझो बनेपछि स्यालतडीका ३१ परिवार गाँउ छोडेर महारुद्र-६ मा बस्दै आएका छन् भने अन्य परिवारको विचल्ली भएको छ ।

स्थानीय किसानले आफैँले परम्परागत रूपमा निर्माण गरेको तीन किलोमिटर लामो कुलोबाट सुरनाँया नदीको पानीले सिञ्चाई गर्दै आएका थिए । कुलो भत्केपछि करिव ८ सय रोपनी खेत बाँभो बनेको छ । "उक्त क्षेत्रमा रुखो जमिन भएकाले सिचाई विना उब्जनी हुँदैन ।"-जयदत्त भट्टले भने ।

"कुलो मर्मतको लागि वर्षेनी सदरमुकाम स्थित सरोकारवाला कार्यालय धाउँछौ । तर, कसैले पनि हाम्रो पीडा बुझेनन् ।"-रामचन्द्र ओझाले भने ।

गतवर्ष जिल्ला विकास समितिले ३ लाख रुपियाँ दिने वचन दिएको उनले बताए । उपभोक्ता समिति गठन गरेर बैङ्क खाता खोल्न लगाएर अन्तिममा रकम नदिएको ओझाले गुनासो गरे ।


नरी बडु