खाद्यान्न लिन सात दिनको बाटो

  ०७६ मङ्सिर ४ गते

नेपाल खाद्य संस्थान, हुम्लाको सर्केगाड गाउँपालिकामा रहेको सर्केगाड डिपो तथा देउली र श्रीनगर विक्री केन्द्रमा खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारले हालसम्म खाद्यान्न ढुवानी नगर्दा स्थानीयलाई समस्या भएको छ ।

खाद्यान्न ढुवानी नहुँदा सो क्षेत्रका स्थानीय सात दिनको बाटो हिँडेर मुगुको सदरमुकाम गमगढी तथा सोरु गाउँपालिका–८ तारापानीमा खाद्यान्न लिन जान बाध्य छन् ।

हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा रहेको नेपाल खाद्य संस्थानको डिपो तथा देउली र श्रीनगर विक्री केन्दमा ढुवानीको जिम्मा लिएको ॐ जय दुर्गे अर्डर सप्लायर्सका सञ्चालक दुर्गा बुढाले हालसम्म खाद्यान्न ढुवानी नगर्दा हुम्लीबासीलाई समस्या भएको हो ।

गाउँपालिकामै रहेका नेपाल खाद्य संस्थानको खाद्यान्न डिपो तथा विक्री केन्द्रमा खाद्यान्न नभएपछि सर्केगाड गाउँपालिका–३ का दिलबहादुर थापा र विरबहादुर फडेराले खाद्यान्न लिन भेडा बाख्रा सहित सात दिन लगाएर मुगु जिल्लाको सोरु गाउँपालिका–८ तारापानी आइपुगेको बताए ।

गाउँमा खाद्यान्न पुगेपनि खाद्य संस्थानका डिपो तथा विक्री केन्द्रबाट वर्षभरी ३० किलो चामल लिन पनि नेताहरूको पहुँच चाहिने चामल लिन मुगु पुगेका सर्केगाड गाउँपालिकाका रोशन फडेराले बताए ।

व्यापारीहरूबाट खाद्यान्न किन्दा प्रत्येक ३० किलोको बोरामा संस्थानको दरभन्दा २ सय रुपियाँ बढी मुल्य तिरेर खाद्यान्न किन्नु परेको स्थानीयहरू बताउँछन् ।

गाउँपालिकामा रहेका खाद्यान्न डिपो र विक्री केन्द्रमा साउन यता खाद्यान्न नपाएकोले समयसमयमा भेडाच्याङ्ग्रामार्फत मुगुको सदरमुकाम गमगढी र सोरु गाउँपालिकाको तारापानी आउनु परेको दिलबहादुर थापाले बताए ।

आर्थिक वर्ष २०७६/०७७ का लागि नेपाल खाद्य संस्थान, केन्द्रीय कार्यालयले सर्केगाड डिपोका लागि मुगु खाद्य संस्थानबाट १ हजार क्वीन्टल, खाद्य संस्थान प्रदेश कार्यालय सुर्खेतबाट १ हजार ५ सय गरी २ हजार ५ सय क्वीन्टल खाद्यान्न कोटा निर्धारण गरेको छ ।

देउली विक्री केन्द्रका लागि सुर्खेतबाट ८ सय र श्रीनगर विक्री केन्द्रका लागि धनगढी र सुर्खेतबाट १–१ हजार गरी २ हजार क्वीन्टल खाद्यान्न कोटा निर्धारण गरिएको नेपाल खाद्य संस्थान, मुगु शाखाका प्रमुख कर्ण रावलले जानकारी दिए ।

मुगु खाद्य संस्थानमा अहिले खाद्यान्न मौज्दात पर्याप्त रहेपनि ति स्थानमा ढुवानीका लागि ठेकेदार पक्ष सम्पर्कमा नरहेको र केही दिनमै ढुवानीका लागि ताकेता गर्ने खाद्य संस्थान, मुगुले जनाएको छ ।

Photo20191119Mugu


जीवन सेजुवाल