खाद्यान्न ढुवानी नहुँदा सिर्दिबास डिपो एक महिनादेखि रित्तै !

  ०७५ कात्तिक २२ गते

नेपाल खाद्य संस्थान गोरखा शाखा अन्तर्गत उत्तरी गोरखामा रहेको सिर्दिबास डिपो एक महिनादेखि रित्तो छ । सिर्दिवास सहित ल्हो, विही, प्रोक, छेकम्पार, चुम्चेत र सामागाउँका बासिन्दालाई सहुलियत दरमा चामल उपलब्ध गराउने डिपोमा दसैँयता चामल नरहेको सो डिपोका कर्मचारी मङ्गलबहादुर गुरुङले बताए ।

चालु आर्थिक वर्षको चार महिनासम्म सो डिपोमा खाद्यान्न ढुवानी नहुँदा डिपो रित्तिएको हो । गत वर्षको बाँकी २९ क्वीन्टल चामल दसैँ अघि नै विक्री भएपछि त्यस यता डिपोमा चामल ढुवानी नभएको गुरुङले बताए । डिपोमा चामल नहुँदा घण्टौँ पैदल हिँडेर आएका सेवाग्राही पनि रित्तो हात फर्कनुपरेको स्थानीय नसुनी गुरुङले गुनासो गरिन् ।

चालु आर्थिक वर्ष माछाखोला डिपोमा भने २ हजार ५ सय क्वीन्टल र सिर्दिबास डिपोमा २ हजार क्वीन्टल चामल पुर्या‍उने बताइएको छ । सिर्दिबास डिपोमा टेण्डर स्वीकृत भएर ठेकेदारसँग सम्झौता प्रक्रियामा जाँदा ढिला भएको नेपाल खाद्य संस्थान गोरखा शाखाका सूचना अधिकारी मोहन बजगाईँले बताए ।

दुवै डिपोमा चामल ढुवानीको जिम्मा प्रगति निर्माण सेवाले पाएको छ । कात्तिक १७ गते ठेक्का सम्झौता गरेर ५१ क्वीन्टल चामल सिर्दिवासका लागी ढुवानी भइसकेको उनले बताए । खच्चडबाट खाद्यान्न ढुवानी गर्दा चामल डिपोमा पुग्न केही दिन ढिलाइ भएको उनको भनाइ छ ।

माछाखोला डिपोमा भने गत आर्थिक वर्षमा ढुवानी भएको करिब ७ क्वीन्टल चामल मौज्दात रहेको उनले बताए । माछाखोला डिपोबाट केरौँजा, उहिया, काशिगाउँ, लापु, गुम्दा र लाप्राकका स्थानीयहरूले चामल किन्ने गरेका छन् ।

सो डिपोमा पाइने सोना मन्सुली चामल सिर्दिबास डिपोबाट प्रतिकेजी ४८ र माछाखोला डिपोबाट ४५ रुपियाँमा विक्री हुँदै आएको छ । सिर्दिबास र माछाखोला डिपोमा रहेको चामल वडा अध्यक्षको सिफारिसमा स्थानीयहरूलाई उपलब्ध गराउने प्रावधान रहेको छ ।


हरिराम उप्रेती